अञ्जु पन्त र नरेश रेग्मीलाई सर्वोत्कृष्ट युगल गायनको अवार्ड

काठमाडौँ । १२औँ म्युजिक खबर म्युजिक अवार्ड २०८१ सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा ३६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रमका संयोजक सविता पोखरेलले जानकारी दिइन् । अञ्जु पन्त र नरेश रेग्मीलाई सर्वोत्कृष्ट युगल गायनको अवार्ड वितरण गरियो ।

कार्यक्रममा म्युजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्व भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख आतिथि थिए । कार्यक्रममा विशिष्ट गीतकार तथा निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान गरियो । विशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि कार्यक्रममा उपस्थित थिए । अवार्डको राशि ५१ हजार रुपैयाँ थियो ।

अवार्डमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए । आचार्यले ‘एक दिन उज्यालो छाउला’ गीतका लागि सर्वोत्कृष्ट गायकको अवार्ड पाए भने भने भट्टराईले ‘गुनासो’ गीतका लागि सर्वोत्कृष्ट गायिका अवार्ड दिइयो । त्यस्तै आधुनिक विधातर्फ नरहरि प्रेमीले ‘घर छोडेको मान्छे’ गीतबाट सर्वोत्कृष्ट संगीतकारको उपाधि पाए ।

महेश आचार्यले ‘तिमी सँगै छैनौ’ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए । गायिका अन्जु पन्त र गायक नरेश रेग्मीले ‘धर्ती र जूनको कहानी’ गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । ‘एउटा जून’ गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड पाए । विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड पाए भने रुपेश थापाले सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकारको पुरस्कार पाए । रबिन बिकले सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनको अवार्ड पाए ।

अभिनेता विनोद श्रेष्ठ र उषा उप्रेतीले सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलको अवार्ड पाए भने शान थापाले सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड पाए । एलिना चौहानले ‘तिमीबिना’ चल्दैन गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड पाइन् ।

भूपेन्द्र बुढाथोकीले जुरी अवार्डतर्फ गीतकारको अवार्ड पाए । । केशव पौडेलले संगीतकारको अवार्ड प्राप्त गरे भने दीपेन्द्र्र आलेले सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड पाए । सुरज पण्डितले गायकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर शम्भु पुरीले प्राप्त गरे ।

पप गायनतर्फ गायक प्रेज्वल नेपाली र सारिका घिमिरे उत्कृष्ट भए । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए । सुदीप भण्डारी (जिबब) सर्वोत्कृष्ट ¥यापर बन्न सफल भए ।

लोकदोहोरीतर्फ सरोज लामिछाने र सुनिता बुढा क्षेत्री उत्कृष्ट भए । लोकदोहोरीतर्फ कृष्ण केसी, सन्तोष सापकोटा, सामना शाह रतेजेन्द्र दुरा आफ्नो क्षेत्रबाट उत्कृष्ट भए ।

मौसम हिमाली सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक भए भने बादल घिमिरे सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल भए । महिलातर्फ अस्मिता पुरीले अवार्ड पाइन् । रेश्मा तामाङ, शुक्र तामाङ र गायिका रेजिना परियारले पनि आफ्नो विधामा अवार्ड पाए । अवार्ड पाउने अन्य कलारकामा रायन बस्याल, उमेश भट्ट, रामचन्द्र चन्द, सबिन आचार्य, निशा गुरुङ, संगम लामिछाने र सुशील ज्ञवाली रहेका छन् ।

चलचित्रविधातर्फ गीतकार प्रमोद ढुंगानाले सर्वोत्कृष्ट चलचित्र गीतकारको अवार्ड पाए । अर्जुन पोखरेल सर्वोत्कृष्ट संगीतकार बने । सुमिन खड्का र नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए ।

त्यस्तै कार्यक्रममा ‘म्युजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भए । खुमन अधिकारी र जुनु रिजाललाई ‘म्युजिक खबर दशक संगीत सम्मान अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्युजिक युवा संगीत सम्मान अर्पण गरिएको थियो । यस्तै गायिका पुजा देवकोटालाई ‘म्युजिक खबर बालप्रतिभा संगीत सम्मान’, न्युजिल्यान्ड निवासी गीतकार रमिल अधिकारीलाई म्युजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको संयोजक पोखरेलले बताइन् ।

गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्युजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्युजिक खबर कला सम्मान र सफला मैया राजभण्डारीलाई म्युजिक खबर सामाजिक सेवा सम्मान प्रदान गरियो । आश्विनीकान्त झालाई म्युजिक खबर ब्युटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो ।
कार्यक्रम गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया