काठमाडौँ । सरकारले घरजग्गा कारोबारमा थप कडाइ गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य गरेको हो । यससँगै अब घरजग्गा किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेस गरेपछि मात्र लिखत पारित हुनेछ ।
विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गर्दै बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयका हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद–बिक्री कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन बापत शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नुपर्ने जनाएको छ । त्यसैगरी लाभकर बापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिएको सरकारी राजस्व खातामा नै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसका साथै, घरजग्गा खरिद–बिक्री गर्दा स्थानीय तहबाट प्रमाणित बैनापट्टाको कागज मात्र पर्याप्त नहुने व्यवस्था गरिएको छ । यदि बैनापट्टाको रकम १० लाख रुपैयाँभन्दा बढी भएमा, खरिदकर्ताले बिक्रीकर्तालाई बैंकिङ प्रणाली वा विद्युतीय माध्यमबाट रकम भुक्तानी गरेको विवरण पनि बैनापट्टासँगै पेस गर्न अनिवार्य छ ।
नयाँ व्यवस्थाअनुसार, खरिदकर्ता वा बिक्रीकर्ताले एकै दिनमा एकपटक वा पटक–पटक गरी ३ करोड रुपैयाँ वा सोभन्दा बढी मूल्यको घरजग्गा खरिद वा बिक्री गरेमा त्यसको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ । यदि कुनै कारोबार शंकास्पद देखियो भने सम्बन्धित कार्यालय र जानकारी दिने संस्थाले पनि नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा दिनुपर्नेछ । निर्देशनमा उल्लेख भएको घरजग्गा खरिद–बिक्री कारोबार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुवैलाई जनाउने उल्लेख छ ।
बैंकिङ प्रणालीमार्फत कारोबार गर्नुपर्ने घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्ने छ । तर, ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने छ ।
प्रतिक्रिया