वीरगञ्ज । मधेस प्रदेश सरकारले विगतमा प्रतिबद्धता जनाएका मागहरू कार्यान्वयन नगरेको भन्दै मधेसी सहिद तथा घाइतेका परिवारले प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि आज मंगलबार दोस्रो दिन पनि धर्ना कार्यक्रम जारी राखेका छन् ।
धर्नाको आज दोस्रो दिन जनकपुरस्थिति कदम चोकबाट मधेस प्रदेश सरकारको मुख्यमन्त्री सतिश सिंह तथा मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीको फोटोसहित विभिन्न मागहरुको नाराहरू लगाउँदै पुनः मधेस प्रदेश सरकारको मुख्यमन्त्री गेटनिर धार्ना बसेका छ्न् ।
सहिद परिवारका तर्फबाट धर्नामा सहभागी अवधेश पटेलले भने, ‘हाम्रो छोराहरू, बाबु, दाजुभाइहरूको रगत बगेर बनेको यो प्रदेश सरकारले अघिल्लो सरकारका पालामा गरेका सहमतिहरू कार्यान्वयनमा आलटाल गरिरहेको छ, हामी यही न्यायको खोजीमा धर्नामा बस्न बाध्य भएका हौँ ।’
उनका अनुसार अघिल्लो सरकारले गठन गरेको मधेसी सहिद प्रतिष्ठानमा सहिद परिवारका तर्फबाट एक जना पुरुष र एक जना महिलालाई समावेश गरिएको थियो । तीमध्ये रामनरेश राय यादवको निधन भएपछि सो स्थानमा नयाँ प्रतिनिधि नियुक्त गर्न प्रस्ताव गरिएको भए पनि त्यसबारे सुनुवाइ भएको छैन ।
धर्नाका प्रमुख मागहरू यस प्रकार छन्
१. मधेसी सहिद प्रतिष्ठानमा रिक्त पदमा नयाँ प्रतिनिधिको नियुक्ति
२. सहिद परिवारका सदस्यहरुलाई स्वास्थ्य बीमा सुविधा
३. एक परिवार, एक रोजगारको नीति लागू
४. शिक्षा क्षेत्रमा छात्रवृत्तिको व्यवस्था
५. प्रतिष्ठानमा छुट्याइएको दुई करोड बजेटको प्रभावकारी उपयोग
पटेलका अनुसार, गृह मन्त्रीसँग बारम्बार छलफल भए पनि ‘पार्टीको अधिवेशन’, ‘सरकारी प्रक्रिया’ जस्ता बहानामा समस्या टार्ने काम मात्र भइरहेको छ ।
बजेट फ्रिज हुने खतरा
पटेलले बताए अनुसार मधेस प्रदेश सरकारले प्रतिष्ठानका लागि दुई करोड रुपैयाँ छुट्याएको भए पनि अहिलेसम्म खर्च नगरिएकोले सो बजेट फ्रिज हुने खतरा देखिएको छ ।
अघिल्लो सरकारले गरेको नियुक्ति र असन्तुष्टि
अघिल्लो मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले ६३ सहिद परिवार र १०७ घाइतेमध्ये ५२ जनालाई नियुक्ति पत्र दिएको थियो । तिनमध्ये २७ जना करारमा र अन्यलाई डोर हाजिरीमा नियुक्त गरिएको थियो ।
सहिद परिवारले सबैलाई कार्यालय सहयोगीका रूपमा मात्र नहेरी योग्यता अनुसार तहगत पदमा समायोजन गर्नुपर्ने माग राखेका थिए ।
पटेलले आरोप लगाए अनुसार वर्तमान सरकारले मधेस आन्दोलनमा सहभागीहरुलाई रोजगारी नदिई आफ्ना कार्यकर्तालाई मात्र नियुक्ति दिइरहेको छ । उनले भने, ‘डोर हाजिरीमा राखिएका कर्मचारीलाई डेढ वर्षदेखि तलबसमेत दिएको छैन, यो सरकार मधेश आन्दोलनको भावना विपरीत काम गरिरहेको छ ।’
धर्ना जारी रहने चेतावनी
पटेलका अनुसार धर्नामा मधेस प्रदेशका आठवटै जिल्लाबाट सहिद परिवारका आफन्तहरू सहभागी भएका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया