प्रेस युनियनको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

पाँचथर । पाँचथरमा प्रेस युनियको ३४औँ स्थापना दिवशको अवशरमा दुई पत्रकार राधा लुइटेल र जितेन्द्र भण्डारी पुरस्कृत भएका छन् ।

स्थापना दिवसको अवसर पारेर गोरखापत्र दैनिककी पाँचथर संवाददाता राधा लुइटेल र इमेज टेलिभिजनका संवाददाता जितेन्द्र भण्डारी नगद पुरस्कारसहित पुरस्कृत भएका हुन् ।

प्रेस युनियन पाँचथरले वितरण गर्दै आएको स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कार लुइटेल र स्वर्गीय लोकमन बास्कोटा स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशी समान दश हजार रुपैयाँ छ ।

दुवै सम्मान र पुरस्कार प्रत्येक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ । यसैबीच प्रेस युनियन पाँचथरले जिल्लामा कार्यरत ९५ जना पत्रकार र सञ्चारकर्मीको सामूहिक दुर्घटना बिमासमेत गरेको छ ।

जिल्लामा रहेर सक्रीय पत्रकारिता गरिरहेका पत्रकारसँगै रेडियो, पत्र–पत्रिका र अनलाइनमा कार्यरत यत्तिका पत्रकारको सामूहिक दुर्घटना बिमा गरिएको युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलले बताए ।

प्रेस युनियन पाँचथरले ३४औँ स्थापना दिवश फिदिम ४ सालघारीमा रहेको जागृति आवसीय विद्यालयका विद्यार्थीहरुसँग मनाएको हो ।

प्रेस युनियन पाँचथर शाखाले सो बिद्यालयमा आवसीयरुपमा पढिरहेका ५१ जना विद्यार्थीहरुसँग सामूहिक भोजनसहितको कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । प्रेस युनियन पाँचथर शाखाले सो विद्यालयलाई एक थान फिल्टर र विद्यार्थीहरुका लागि स्टेशनरी समेत हस्तातरण गरेको छ ।

प्रतिक्रिया