विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा पुन: हुमागाईं

काठमाडौँ । विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई पुन: नियुक्त भएका छन् । हुमागाईंलाई मन्त्रीपरिषद् बैठकले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेकाे हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियाे । व्यावसायिक कार्य योजना, प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्च अंक प्राप्त गर्ने ३ जनाको नाम सिफारिश समितिले मन्त्रिपरिषद्मा पेश गरेको थियो । जसमा सर्वोत्कृष्ट अंक ल्याउन सफल हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिए ।

यसअघि हुमागाईंले उक्त बोर्डको ४ वर्ष नेतृत्व सम्हालिसकेका छन् । यसअघि सार्वजनिक संस्थान निर्देशन बोर्डले लिएको खुल्ला प्रतिस्पर्धामा नेपाल टेलिभिजनको महाप्रबन्धक बनेका हुमागाईंले विज्ञापन बोर्डको अध्यक्षको लागि भएको प्रतिस्पर्धामा समेत सबै प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष नियुक्त भएका थिए ।

सञ्चार क्षेत्रमा करिब २७ वर्ष बिताएका हुमागाईंले नेपाल टेलिभिजनको अतिरिक्त, जनता टेलिभिजन तथा ईमेज च्यानलको समेत नेतृत्व गरिसकेका छन् । आमसञ्चार तथा पत्रकारिता र जन प्रशासनमा स्नातकोत्तर, पत्रकारिता तथा आमसञ्चारमा दर्शनाचार्य गरेका उनले विज्ञापन नियमनकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिहेका छन् ।

विज्ञापन बजार खस्किएको र सञ्चार माध्यमको संख्यामा वृद्धि भइरहेको बेला बोर्डको कार्यकारी अध्यक्ष बन्न पुगेका हुमागाईंको आगामी ४ बर्षमा विज्ञापन बजारको विकास विस्तारका साथै व्यवस्थित बनाउन कस्तो भूमिका खेल्न सक्छन् त्यो भने चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया