मिथिलाका महिलाहरुले मनाए वट सावित्री पूजा

काठमाडौं । आज मिथिलाञ्चलका महिलाहरुले वट सावित्री (बरसाइत) पर्व निष्ठाका साथ मनाएका छन् । जेठ महिनाको अमावश्या तिथिका दिन मैथिल महिलाहरुले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् ।

संस्कृतिको धनी रहेको मिथिला क्षेत्रमा महिलाहरु वट सावित्रीको व्रत बस्ने अनिवार्य वरको रुखको पूजा गर्ने गर्दछन् । मान्यताअनुसार यस दिन सधवा महिलाहरुले आफ्नो दिर्घ सौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन् ।

शाास्त्र अनुसार वरको रुखमा त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेशको वास हुन्छ । वटवृक्षको जरामा ब्रह्मा, बीचको खाँबोमा विष्णु र लहरा तथा पातमा महादेवको वास हुन्छ भने तलतिर लत्रेको शाखाहरुमा सावित्रीको बास हुने बताइएको छ ।

शास्त्र अनुसार अमावश्या तिथिको दिन पर्ने वट सावित्रीको पूजामा मिथिलाका महिलाहरुले माता सावित्रीको पतिपरायणता देखेर यमराजले समेत उनका पति सत्यवानलाई आयुको वरदान र जीवनदान दिएको स्मरण गर्दै व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको छ ।

मिथिला क्षेत्रमा वटवृक्षको पूजा गर्नाले श्रीमानलाई लामो आयुको वरदान प्राप्त हुन्छ भन्ने मान्यता विद्यमान रहेको छ ।
मिथिला क्षेत्रबाट राजधानी आएका महिलाहरुले आज आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै नजिकैको बरको रुखमा विधिवत रूपमा पूजा गरेका छन् ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया