काठमाडौँ । १२ जेठदेखि सुरु हुने सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता २०२५ को तयारी पूरा भएको छ । सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजना तथा नेपाल रग्बी संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुने छ ।
प्रतियोगितामा ५ प्रदेश र २ विभागीय टोली गरी ७ टोलीले स्पर्धा गर्नेछन् । प्रतियोगितामा कोसी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सहभागी हुनेछन् । लिग कम नकआउटको आधारमा हुने खेलमा ७ टोलीलाई २–२ पोलमा विभाजन गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न १९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । एकेडेमीबाट ११ लाख तथा बाँकी रकम संघले दिने प्रतियोगिता संयोजक दीपक अधिकारीले जानकारी दिए ।
खेलाडीहरूका लागि १ लाख २५ हजार बराबरको खेल दुर्घटना बिमा गरिएको संघले बताएको छ । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया