आमाका अंगमा रहेका अव्यक्त अमृत उत्पादक फ्याक्ट्रीहरूको व्याख्या गर्नै सकिँदैन । शिशुले खाद्य पदार्थको सम्पूर्ण तत्व आमाको स्तनबाटै सबै तत्व पाउँछ । त्यस्तै दूध उत्पादक किसानहरूबाट सिंगै देश र समाज मात्र होइन, राष्ट्रिय अर्थव्यवस्थामा समेत मेरुदण्डको भूमिकामा अर्गानिक, प्राकृतिक सहयोग गर्न सक्छ ।
दूध बेचेर घर व्यवहार चलाउनकै लागि पशुपालन गरेर दूध बेचेर नगद प्राप्त गर्नु किसानको सिधा उद्देश्य हो । पशुपालनबाट दूधको साथै गोबर, गहुँत उत्पादन हुन्छ । जसको प्रयोग ग्यास उत्पादनमा हुनसक्छ । प्रतिमहिना १९ सयमा किन्ने ग्यास सिलिन्डरको सट्टामा आफ्नै ग्यास प्लान्टले काम दिन्छ । खेतीका लागि खरिद हुने रासायनिक मलमा बिदेशिने हजारौँ रुपैयाँ बचत हुन्छ, जैविक मलबाट ।
पशुपालन बढेपछि डालेघाँस खेती अवश्यै बढ्छ र त्यस्तै स्वच्छ वातावरणले कार्बन सन्तुलन साथै कृतिम दानामा हुने खर्चसमेत घटाउन मद्दत गर्न सक्छ, वातावरणमा स्वच्छता हुन्छ । स्वच्छ अक्सिजन बढ्नु भनेको सम्पूर्ण प्राणीको कल्याणमा सहयोग हो ।
यस्तै अदृश्य लाभहरू अनेक हुन सक्छन् । जसलाई यहाँ लेख्दा निकै लामो हुन सक्छ । गाह्रो छ, विज्ञहरूले जान्दछन् । उदाहरणका लागि बुढा र थारा चौपाय मात्र होइन, भाले चौपायाको सदुपयोग गर्ने उपायमा राज्यले ध्यान दिएमा अझ ठुलो लाभ देशले लिन सक्छ, तर यो पाटो अव्यक्त छ ।
मैले आफैँले देखेको हेटौँडाको टिसिएनको दक्षिण पश्चिम भागमा एउटा प्लान्ट थियो । हेटौँडाको कुनै क्षेत्रमा पशुको मृत्यु भएमा त्यहाँ खबर गरेपछि त्यै प्लान्टको पिकअपले बोकेर ल्याएर छाला निकालेपछि लादी फालेर एउटा स्टिम बोइलरमा राखेर स्ट्रिलाइज गरेपछि त्यसलाई अर्को क्रसरमा हालेर कमलो हड्डी र मासु समेतको ड्राइपाउडर निकालेर दाना बनाउने प्लान्टमा जान्थ्यो । कडा हड्डी जति हस्तकला उद्योगहरूले खोजेरै लगेर हाडबाट कलात्मक उत्पादनमा धेरै मजदुरले काम गर्दा निस्कने धुलोसमेत पोल्ट्री दानामा मिलाउनलाई महँगो मूल्यमा बेच्थे ।
अर्को मुख्य पाटो ज्यादै महत्वपूर्ण पाटो अथतन्त्रको आत्मनिर्भरता पनि हो । केही महिना अघि मात्र चितवनका कृषक र भक्तपुरको एक डेरी फार्मबीच २० वर्षसम्म निरन्तर दैनिक ७ हजार दूध खरिद बिक्री गर्ने संझौता भएको छ । यही खबरले मलाई यो पत्र लेख्न प्रेरित गरेको हो । यो ७ हजार लिटरबाट बढेर २१ हजार लिटरमा पुगोस् भन्ने शुभकामनासँगै अर्को अदृश्य पर्दा खोल्न चाहन्छु । त्यो अदृश्य पाटो हो, यो सम्झौताबाट डेरी फार्म निश्चिन्त भएर आफ्नो क्षमता बढाउँछ । यसकोे फलस्वरूप उसले पनि दूधमा मिश्रण गर्ने विदेशी पाउडर आयातमा डलर खर्च गर्दैन, राष्ट्रिय ढुकुटीमा डलर बढ्छ ।
उता ती किसानले पनि डेरी फार्मको दादागिरीबाट पीडित भएर सडकको बीचमा दूध पोखेर रुनु पर्दैन । यसै गरी आ–आफ्ना क्षेत्रबाट सहयोगी भावनाले निस्काम कर्मयोगी भएमा हामीले नै स्विट्जरल्यान्ड बनाउन सक्छौँ । ‘उत्तम खेती, मध्यम व्यापार, अधम चाकरी’ भन्ने पौराणिक वाक्यलाई पुनःस्थापन, कृषकले नै गर्नसक्छ । चेतना भया ।
रामहरी बाजे, विदुर–४ नुवाकोट
प्रतिक्रिया