भारत सरकारले घोषित रूपले नै उत्तर प्रदेशको नवगढ नै प्राचीन कपिलवस्तु राज्यको राजधानी भएको दाबी गरेको छ र त्यहाँ त्यससम्बन्धी कैयौँ निर्माण कार्यहरू पनि गरिएको छ । तर प्राप्त प्रमाणहरू र लुम्बिनी र कपिलवस्तुमा गरिएका उत्खननहरूबाट लुम्बिनी नेपालको रूपन्देहीमा र तिलौराकोट कपिलवस्तुमा भएको कुरा अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भइसकेको छ ।
लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो । तिलौराकोट उनका पिता शुद्धोधनको राज्यको राजधानी थियो । ती दुवै स्थानहरू बुद्धसित सम्बन्धित भएको हुनाले तिनीहरूलाई संसारभरका बौद्धहरूले आफ्नो पूजनीय तीर्थको रूपमा मान्दछन् । लुम्बिनीलाई बौद्धहरूका ४ वटा मुख्य तीर्थहरूमध्ये एउटा मानिन्छ । अर्को ३ वटा तीर्थ स्थानहरूमा बुद्धले शिक्षा प्राप्त गरेको स्थान बोधगया, उनले पहिलोपटक शिक्षा दिएको स्थान सारनाथ र उनको निधन भएको स्थान कुशीनगर हुन् ।
लुम्बिनी र तिलौराकोटमा प्राचीन कालमा नै उच्च सभ्यताको विकास भएको थियो । त्यहाँ मानिसहरूको घना बस्ती थियो । पछि त्यहाँको सम्पूर्ण मानव बस्ती उजाड हुँदै गयो र त्यहाँको सभ्यता लुप्त भयो । कैयौँ शताब्दीसम्म लुम्बिनी र तिलौराकोट दुवै घना जंगलले ढाकिएर ती दुवै लुप्त भएका थिए । यहाँसम्म कि लुम्बिनीको अशोकस्तम्भ पनि जमिनमुनि गाडिएर अदृश्य भएको थियो ।
संसारमा प्राचीन सभ्यताहरू लुप्त भएका कैयौँ उदाहरण छन् । लुम्बिनी र कपिलवस्तु कहाँ थिए ? त्यो पनि स्वयं स्थानीय मानिसहरूले बिर्संदै गए । त्यसरी शताब्दीयौँसम्म लुम्बिनी र कपिलवस्तु दुवै अदृश्य भए । सायद यो इतिहासको विडम्बना नै थियो कि लुम्बिनी र कपिलवस्तुजस्ता त्यति धेरै उन्नति भएका सभ्यता वा संस्कृतिहरू पनि शताब्दीयौँसम्म हराएर गएका थिए । अमेरिकाको माया सभ्यता, सिन्धुघाँटीको सभ्यता र बेबिलोन तथा मेसोपोटामियाका सभ्यताहरू पनि त्यसरी नै लुप्त भएका थिए ।
बौद्ध ग्रन्थ र चिनियाँ यात्रीहरूले लेखेका विवरणहरूका आधारमा पश्चिमी पुरातत्व शास्त्रीहरूले लुम्बिनी र कपिलवस्तुको खोजी गर्ने प्रयास गर्न थाले । सन् १८९५ मा भारतको पुरातत्व विभागले त्यो कामका लागि जर्मन पुरातत्व शास्त्री डाक्टर फोहरलाई नियुक्त ग¥यो । उनले आफ्नो खोजीको क्रममा सन् १८९५ मा कपिलवस्तुको गोटिहवा र निग्लिहवाका अशोक स्तम्भहरू फेला पारे । त्यसपछि उनी लुम्बिनीको अशोक स्तम्भको खोजीमा लागे ।
ब्रिटिस इन्डियालाई भारतमा रेलको निर्माणको लागि ठुलो पैमानामा काठको आवश्यकता थियो । बुटवल क्षेत्रको तराईमा पनि त्यही कामका लागि रुखहरू काट्ने काम भइरहेको थियो । रुख काट्ने क्रममा मजदुरहरूले अशोक स्तम्भको बाहिर आएको त्यसको टुप्पो देखे । त्यो बेला पाल्पाका बडाहाकिम खड्ग शमशेर थिए । त्यो थाहा पाएपछि खड्ग शमशेरले हात्ती लगाएर त्यसलाई उखेल्ने प्रयत्न गर्न थाले । उनले पुरातत्वसम्बन्धी कुनै ज्ञान भएर त्यसो गरेका थिएनन् । सायद त्यो स्तम्भलाई उखेल्ने क्रममा त्यो भाँचिन सक्दथ्यो वा नष्ट पनि हुन सक्दथ्यो । तर लुम्बिनी र कपिलवस्तुको खोजीमा लागेका डा.फुहरर त्यही बेला त्यहाँ आइपुगे । उनले खड्गशमशेरलाई त्यो स्तम्भ नष्ट गर्नुबाट रोके र त्यो स्तम्भको अभिलेख पनि पत्ता लगाए ।
यसरी सन् १८९६ मा अशोक स्तम्भ पत्ता लाग्यो र ६ शताब्दीसम्म हराएको अशोक स्तम्भ पुनः संसारका अगाडि प्रकाशमा आयो । त्यसपछि त त्यहाँ उत्खनन् गर्ने र अध्ययन गर्ने कार्यहरू लगातार बढ्दै गए । डा. फुहरर फर्केपछि पिसी मुखर्जी, केशरशमशेर, देवलामित्र, एनआर बनर्जी, बालकृष्ण पोख्रेल आदिले पनि लुम्बिनी र तिलौराकोटको अध्ययन, अनुसन्धान र उत्खनन्को कार्यमा महत्वपूर्ण योगदान दिएका थिए ।
अशोक स्तम्भ पत्ता लागेपछि लुम्बिनी नै बुद्धको जन्मभूमि भएको कुरामा कुनै शंका रहेन । गोटिहवा र निग्लीहवामा पनि त्यसभन्दा पहिले अशोक स्तम्भहरू पत्ता लागिसकेका थिए । त्यसबाट उनको पिताको राजधानी भएको स्थान कपिलवस्तुको तिलौराकोट नै थियो भन्ने कुरामा पनि कुनै शंका रहेन । तर त्यस प्रकारको निष्कर्षमा पुग्नुभन्दा पहिले कपिलवस्तु र लुम्बिनीको खोजी गर्ने क्रममा अन्य कैयौँ बेग्लाबेग्लै प्रकारका अनुमानहरू पनि गरिएका थिए ।
सन् १७८४ मा कलकत्तामा एसियाली सोसाइटीको स्थापना गरिएको थियो । त्यसले पनि लुम्बिनी र कपिलवस्तुको खोजीको लागि केही प्रयास गरेको थियो । उनीहरूले भारतको उत्तर प्रदेशको गोरखपुर र बस्ती जिल्लाहरूमा नै ऐतिहासिक बौद्ध स्थानहरूको खोजी गर्ने प्रयत्न गरेका थिए । प्रसिद्ध पुरातत्वविद् जनरल अलेक्जेन्डर कनिङ्घमले भारतको उत्तर प्रदेशको बस्ती जिल्लाको मोहन नदीलाई रोहिणी नदी र मेक्सोम नगरलाई लुम्बिनी हुनुपर्छ भनी सन् १९७४ मा अनुमान गरेका थिए । कतिपय भारतीय विद्वानले उडिसाको भुवनेश्वरमा नै कपिलवस्तु वा लुम्बिनी भएको विचार पनि प्रकट गरेका थिए । एकजना शोधकर्ताले भुवनेश्वरको एउटा विश्वविद्यालयमा प्रस्तुत गरेको पिएचडीको शोधपत्रमा लुम्बिनी र कपिलवस्तु भुवनेश्वरमा नै भएको प्रमाणित गर्ने प्रयत्न गरेका थिए ।
भारत सरकारले घोषित रूपले नै उत्तर प्रदेशको नवगढ नै प्राचीन कपिलवस्तु राज्यको राजधानी भएको दाबी गरेको छ र त्यहाँ त्यससम्बन्धी कैयौँ निर्माण कार्यहरू पनि गरिएको छ । तर प्राप्त प्रमाणहरू र लुम्बिनी र कपिलवस्तुमा गरिएका उत्खननहरूबाट लुम्बिनी नेपालको रूपन्देहीमा र तिलौराकोट कपिलवस्तुमा भएको कुरा अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भइसकेको छ ।
अब लुम्बिनी र तिलौराकोट दुवै अन्तर्राष्ट्रिय महत्वका बौद्ध तीर्थस्थल वा पर्यटन केन्द्रहरू बनेका छन् । ती दुवै स्थानहरूको विकासका लागि नेपाल सरकार वा कतिपय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि कैयौँ योजना बनाएका छन् । त्यसको लागि ठुलो धनराशि छुट्याइएको छ वा खर्च पनि भएको छ ।
कपिलवस्तु रूपन्देहीका सबै पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरूको विस्तृत रूपले उत्खनन गर्नुपर्ने आवश्यकता छ । बद्रे आलमले बताएअनुसार त्यही प्रकारका कतिपय महत्वपूर्ण स्थानहरू पश्चिम नवलपरासीमा पनि पर्दछन् । त्यसरी कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्मको विस्तृत भूभागको एउटा मेघा प्रोजेक्ट नै बनाउनुपर्दछ । त्यसरी ती तीनै जिल्लाहरूको विस्तृत अध्ययन गरेमा ती तीनै जिल्लाहरूसँग सम्बन्धित प्राचीन सभ्यताको एउटा भव्य चित्र हाम्रो अगाडि आउने थियो । ती तीनै जिल्लाहरूलाई मिलाएर एउटा बौद्धकालीन बृहत्तर सहरको निर्माण गरिएमा त्यो अन्तर्राष्ट्रिय महत्वको एउटा पुरातात्विक सहर नै हुन सक्दथ्यो । त्यसले खाली ती ३ वटा जिल्लाहरूको मात्र होइन, नेपालको सम्पूर्ण इतिहासमा नयाँ आयाम थप्ने थियो ।
कैयौँ अनुसन्धानकर्ताले कपिलवस्तु र रूपन्देहीका कैयौँ स्थान, त्यहाँका कैयौँ ढिस्कामा प्राचीन सभ्यताका संकेतहरू भएको अनुमान गरेका छन् । कतिपय स्थानहरूको विदेशी अनुसन्धानकर्ताहरूले अध्ययन वा उत्खनन पनि गरेका छन् । ती दुवै जिल्लाहरूमा त्यस प्रकारका स्थानहरू असंख्य छन्, जस्तै कि धानखोला, शिवगढी, सोनागढ, चनाघाट, खुरुहरिया, बेदमौ, परशुरामपुर, पत्थरकोट, अमौली, कोपवा, बिकुली, सगरहवा, श्रीनगरा, बेल्होवा, कोट्हीकोट, निग्लिहवा, जहादी, अरौराकोट, चेत्रादेई, धम्निहवा, लोहसौडिया, रेहरा, औरहिया, रामघाट, डेरवा, पट्खहवा, आनन्दबाग, मुर्चहवा, बर्दहवा, लम्टिया, कुदान, दलदलाहा, डङ्गरी, पिपरी, गोटिहवा, सिंहखोर, हर्देवा, बभनीकोट, हर्दौना, कड्जहवा, दोहनी, सिसहनिया कोट, बेलुहवा, बिजुवा, मनखोरिया, धर्मपानिया, बिमियाकोट, मुडफुटुवा, दुईमुनिया, छोटी सिसनिया, कडी सिसनिया, सोहसपतरिया, परोरा, मनौरी, कालीदह, पैसिया, देवदह, बञ्जराही, निपनिया, पिप्रहवा, पर्रोहा, सैनामैना, भुतकुवा, लक्ष्मीपुर आदि ।’
ती जिल्लाहरूका कतिपय स्थानहरू विभिन्न देवी वा देवताहरूका नाममा रहेका छन् । जस्तै कि समय माइस्थान, तौलेश्वरनाथ, बालाकुण्ठ बराजु, मन्ठारीबाबा र कालीमाई, चञ्चाई माई, प्रकटेश्वर, मर्चवारी माई, कुमारवर्ती माई, भैरवनाथ, नरेश्वर, ऐरेनीस्थान आदि । यी विभिन्न स्थानहरूको नाम देवी र देवताहरूको नामबाट रहेको भए पनि ती स्थानहरू पुरातात्विक महत्वका स्थानहरू हुन् ।
बद्रे आलमले सुनन्दालाई कपिलवस्तु जिल्लामा करिब १३६, रूपन्देहीमा करिब ९९ र नवलपरासी जिल्लामा ४० पुरातात्विक स्थानहरू भएको बताएका थिए । तिनीहरूमध्ये कपिलवस्तुमा तिलौराकोट, निग्लिहवा, सगरहवा, गोटिहवा, कुदान, अरोराकोट, दोहनी, प्राचीन स्तूपा, सिसहनिया, धमनिहवा स्तूपा आदि, रूपन्देहीमा लुम्बिनी, देवदह (देवदहअन्तर्गत घोडहवा हाल बुद्धनगर, बैरीमाई, कन्यामाई, केरवानी क्षेत्र) आदि, नवलपरासी जिल्लामा रामग्राम स्तूपा, पण्डितपुर आदि विशेष रूपले उल्लेखनीय भएको बताएका थिए ।
प्रतिक्रिया