काठमाडौं । नवनियुक्त गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५०० र १००० का नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौँ’, गभर्नर पौडेलले भने ।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए । उनलाई सरकारले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको हो । गभर्नरमा नियुक्त भएपछि पौडेलले प्रधानन्यायाधिश प्रकाशमानसिंह राउतसमक्ष शपथ ग्रहण गरेका थिए ।
त्यसलगत्तै उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए । त्यसपछि राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् । वालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा आज पदभार गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।
उनले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ, त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।’ त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताए ।
त्यस्तै राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे । त्यस्तै, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैंक ऐन अनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ ।
प्रतिक्रिया