पाँचथर । पाँचथर फिदिम नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर मुखको क्यान्सर परिक्षण हुने भएको छ ।
सो शिविर जिल्ला पाँचथर अस्पतालमा यही जेठ ९ र १० गते स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक एवं प्राविधिकहरुसँगको सहकार्यमा फिदिम नगरपालिकाले शिविर सञ्चालन गर्न लागेको नगरप्रमुख मित्र प्रसाद काफ्ले जानकारी दिए ।
शिविरमा दुई हजार महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने लक्ष्य राखिएको छ । शिविरमा भिडियो एक्सरे, अल्ट्रासाउण्ड सेवा पनि उपलब्ध हुनेछ ।
शिविर जेठ ९ र १० गते बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने फिदिम नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश यादवको भनाइ छ ।
फिदिम नगरपालिकाका नगरप्रमुख काफ्लेले विशेषज्ञ चिकित्सक र प्रविधिसहितको शिविरमा सहभागिताको लागि आह्वान गरेका छन् ।
प्रतिक्रिया