इजरायल कठोर बनेपछि गाजामा चरम मानवीय संकट

गाजाको रणनीतिक क्षेत्र कब्जा गर्ने नीतिअन्तर्गत इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले सुरु गरेको ‘अपरेसन गाइडोस चारियोट्स’ का कारण त्यहाँको जनजीवन अझ कठिन बनेको छ । आक्रमणका कारण बिहीबारदेखि शनिबार साँझसम्म २५० जनाको ज्यान गइसकेको हमास नियन्त्रित स्वाथ्य मन्त्रालयले जनाएको छ ।

गत मार्चमा युद्धविराम भंग भएयताका ७० दिनमा प्यालेस्टिनको अवस्था प्रत्येक दिन भयावह बनेको छ । अस्पताललगायत मानवीय क्षेत्रमा बारम्बार आक्रमण भएको छ । राहत वितरणमा समेत अवरोध छ भने कुपोषणको समस्या बढेको छ । खाद्यान्न, पानी र औषधिको समेत समस्या छ । धेरै रोगको उपचार नै गर्न नसक्ने भन्दै अस्पतालहरूले हात झिकिसकेका छन् । भोकमरी र कुपोषणले उत्पन्न समस्या यति चरम बनेको छ कि बालबालिकाको जोखिमयुक्त तौलका कारण चिकित्सकहरू समेत चिन्तित छन् ।

संकटग्रस्त गाजामाथि इजरायलले गरेको अर्को बमबारी र भिषण आक्रमणले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकाय थप चिन्तित बनेका छन् । राष्ट्रसंघले अहिले गाजामा बढेको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय क्षेत्रसँग अनुरोध गरेको छ ।
इजरायलको यो विकराल अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चिन्ता र चासो व्यक्त गरेका छन् । मध्यपूर्वको भ्रमण सकाएर फर्किएका ट्रम्पले भोकमरीको समस्या विकराल भएको बताए । तथापि ट्रम्पको योजना भने गाजा खाली गराएर त्यहाँका बासिन्दालाई लिबिया पठाउने छ ।

इजरायलले भने युद्धविरामका लागि दिएको दबाब हमासले बेवास्ता गरेका कारण बाध्य भएर पछिल्लो अपरेसन सुरु गर्नुपरेको बताएको छ । इजरायलले ७ अक्टोबर, २०२३ मा बन्दी बनाएका सबैलाई रिहाइ गर्नुपर्ने माग बारम्बार राखेको छ भने हमासले पहिले इजरायलले हतियार राख्नुपर्ने अडान राखेको छ । साथमा गाजाबाट इजरायली सेना नफर्किएसम्म बन्दी रिहाइ नहुने हमासले जनाएको छ । महिनाको सुरुआतमै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पूरा कब्जा गर्ने गरी प्रवेशको सम्भावना पनि व्यक्त गरिसकेका थिए ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार भोल्कर टुरुकले इजरायलको यो अपरेनस अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको प्रतिक्रिया दिएका छन् । उनले बमबारी, राहत वितरणमा अवरोध र संवेदनशील क्षेत्रमा समेत भएका आक्रमण मानवताविरोधी अपराधका रूपमा सूचीकृत हुने बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले पनि पछिल्लो परिस्थितिप्रति आफूहरू चिन्तित भएको बताए ।

प्रतिक्रिया