काठमाडौँ । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध परेको मुद्दाको फैसला यही २८ जेठमा सुनाउने भएको छ । रिट निवेदकतर्फको अन्तिम जबाफी बहस सकिएपछि बिहीबार संवैधानिक इजलासले फैसला सुनाउने मिति जेठ २८ गतेका लागि तोकेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमाल चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले फैसलाको मिति तोकेको हो । संवैधानिक इजलासले जेठ १६ गतेभित्र बहस नोट पेस गर्न दुवै पक्षलाई आदेशसमेत दिएको छ ।
४ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् बैठकमार्फत् विभिन्न संवैधानिक आयोगहरूमा २ पटक गरेर ५२ जना पदाधिकारी तथा सदस्य नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्याललगायतले नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पटक–पटक स्थगित हुँदै आएको सो मुद्दाको सुनुवाइ गत माघदेखि सुरु भएको थियो ।
प्रतिक्रिया