काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर गरेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनअनुसार सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटमा २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर गरेको हो । बजेट अनुशासनलाई मिच्दै सरकारले १४ दशमलव ६४ प्रतिशत रकमान्तर गरेको प्रतिवेदनमा उल्लेख छ । २०८१ को असार महिनामा २६ अर्ब ९० करोड ३४ लाख र असार अन्तिम हप्तामा १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरेको महालेखाले औँल्याएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था रहे पनि पहिलो त्रैमासिक अवधिमा ११ अर्ब ६४ करोड ७ लाख कुल रकमान्तरको ४ दशमलव ५४ प्रतिशत रकमान्तर गरेको हो ।
प्रतिवेदनअनुसार बजेटमा व्यवस्था नभएका २३ कार्यक्रममा रकमान्तरबाट थप गरी ११ अर्ब ७५ करोड ९८ लाख बजेट कायम गरेको छ । त्यसैगरी यस वर्षको बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भएकोमा ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख राष्ट्रिय गौरवबाहेकका अन्य आयोजनाहरूमा रकमान्तर गरेको छ ।
प्रतिक्रिया