आइसिसी डिभिजन लिग–२ अघि सन्दीपले तोडे क्यानसँगको सम्झौता

काठमडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् सन्दीपले सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् । ‘धेरै सोचविचार पछि, मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो’, सन्दीपले लेखेका छन् ।

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक १ लाख पाउँथे । यो सम्झौता जुन महिनामा सकिनेछ । लामिछानेको योे निर्णयले आसन्न विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको पूर्व सन्ध्यामा नेपाली टोलीको आन्तरिक विग्रह छताछुल्ल भएको छ । बुधबार नै स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२० आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली बुधबार नै स्कटल्यान्डतर्फ प्रस्थान गरेको छ ।
नेपालले लिग–२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्डसँग २ देखि १० जुनसम्म सिरिज खेल्ने छ । लिग–२ सिरिजपछि नेपालले ती देशहरूसँग टी–२० आई सिरिज खेल्नेछ । सो सिरिज १५ देखि २० जुनसम्म सञ्चालन हुनेछ ।

लिग–२ का लागि घोषित नेपाली टोलीमा रोहित पौडेल कप्तान तथा दीपेन्द्रसिंह ऐरी उपकप्तान छन् । कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी टोलीमा समावेश छन् ।

किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम त्यसपछि हुने टी–२० आई सिरिजका लागि थप गरिएको टोलीमा समावेश छन् । सिरिजमा १२ खेल खेलिसकेको नेपालको ६ अंक छ । १९ खेलमा २६ अंकसहित नेदरल्यान्ड पहिलो स्थानमा छ भने अमेरिका १६ खेलमा २२ अंकसहित दोस्रो तथा क्यानडा १६ खेलमा २० अंकसहित तेस्रो स्थानमा छन् । ओमानको १६ खेलमा १८ अंक छ । स्कटल्यान्डको १४ खेलमा १६ तथा नामिबियाको २० खेलमा १४ अंक छ । संयुक्त अरब इमिरेट्सको १५ खेलमा ६ अंक छ ।

प्रतिक्रिया