क्रिकेटर सन्दीप लामिछानेले गरे क्यानको सम्झौतामा नबस्ने घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गरेका हुन् ।

उनले यस निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन् । उनले फेसबुक सटाटसमार्फत भनेका छन्, ‘यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो ।’

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपालली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताएका छन् । उनले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने बताएका छन् ।

यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनले सन्दीपको विषयमा क्यानले छलफल गरी छिटै नै निर्णय सार्वजनिक गर्ने बताए । सन्दीप केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश थिए । यो क्याटेगोरीमा समावेश खेलाडरूले क्यानबाट मासिक रु एक लाख प्राप्त गर्दै आएका छन् ।

प्रतिक्रिया