काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । आगामी बजेटबारे विकास साझेदारहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका हुन् । छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘केही समय अघिदेखि आर्थिक सुधार थालेका छौँ । त्यसबाट सकारात्मक नतिजाहरू पाइरहेका छौँ । आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौँ ।’
अध्यादेशबाट गरिएका कानुन संशोधनहरू, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरू, विभिन्न नीति तथा निर्णयहरू नीतिगत सुधारका महत्वपूर्ण पक्षहरू भएको पौडेलले बताए । उनले विकास साझेदाहरूलाई आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी गराए ।
स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्यितता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताए । उनले भने, ‘वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ, पुँजीगत खर्च र त्यसमा देखापरेका समस्या समाधानका लागि पनि ध्यान दिएका छौँ ।’
संसद्मा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्परक भनेर मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले नेपालको विकासमा मित्रराष्ट्रहरू र विकास साझेदारहरूको निरन्तर सहयोगको अपेक्षा गरे । अर्थसचिव घनश्याम उपाध्यायले आगामी बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताए ।
अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले गत वर्षको तुलनामा नेपालको अर्थतन्त्र सुधारतर्फ गइरहेको र अहिले अर्थतन्त्रका परिसूचकहरू सकारात्मक रहेको जानकारी गराएका थिए ।
विकास साझेदारका प्रतिनिधिहरूले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयन लगायतमा सुझाव दिँदै आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने बताएका थिए । छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्यान्ड, युरोपियन युनियन, विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन लगायतका प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका छन् ।
अधिक प्रतिफल दिनेगरी स्रोत परिचालन गरौँ : कार्की
छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्ने बताएका छन् । साथै उनले सीमित स्रोतबाट अधिक प्रतिफल दिने योजनामा बजेट परिचालन गर्नुपर्ने बताए ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले समावेशी, दिगो, प्रतिफल दिने र जनतालाई प्रत्यक्ष अनुभव गराउने बजेट आवश्यक भएको बताए । कृषिमा आत्मनिर्भरता विकास तथा रोजगारी सृजनामा बजेट केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
बजेट अनुशासन कायम गरौँ : विष्ट
एमाले सांसद तथा पूर्वमन्त्री गोकर्णराज विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गरे । नागरिकको जीवनस्तर माथि उठाउने र आमनागरिकले राज्यको साधन स्रोतको समान उपभोग गर्न पाउने प्रबन्धलाई सुनिश्चित गर्ने प्रयत्न भएको, मनोमानी ढंगले स्रोतको विनियोजन गर्ने प्रवृत्ति हटेको जनाउँदै उनले बजेट अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । विष्टले देशभित्रै रोजगारीको प्रबन्ध गर्न, युवा पुस्तालाई प्रविधि र सीपका माध्यमबाट क्षमतावान् बनाउनुपर्ने, श्रम बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिने र रोजगारीका आधार निर्माण गर्नेगरी बजेटमा व्यवस्था हुनुपर्ने बताए । बुढीगण्डकी, उत्तरगंगाजस्ता जलाशयुक्त जलविद्युत् आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेर हिउँदको विद्युत् माग सम्बोधन गर्ने गरी अगाडि बढ्ने सरकारी सोचको सराहना गर्दै उनले सोहीअनुसार बजेट विनियोजन गर्नुपर्ने बताए ।
प्रतिक्रिया