बिएनए बास्केटबल मंगलबारदेखि

काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा आठौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा २ विधामा २४ टिमको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी हुने छन् ।

दुवै समूहको सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गल्र्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीले सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने विद्यालयका को–ओर्डिनेटर सन्तोष फुयालले बताए ।

६ जेठसम्म चल्ने प्रतियोगिताका खेलहरू बसुन्धारास्थित नमुना टोलमा खेलाइने छ । जुनियर ब्वाइजमा सेब तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।

बिएनएले आफ्नो बास्केटबल कोर्ट पनि पुनर्निर्माण गरेको छ । पुनर्निर्माण गर्न करिब ६ लाख रुपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए ।

प्रतिक्रिया