काठमाडौँ । विदेशी मुद्रा सञ्चिति सवा २६ खर्ब रुपैयाँ पुगेको छ । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव ९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तसम्ममा १५ दशमलव ४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । जबकी २०८१ असार मसान्तसम्ममा १५ अर्ब २७ करोड अमेरिकी डलर थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १५ दशमलव ६ प्रतिशत बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव ४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव १ महिनाको वस्तु आयात र १४ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
वैदेशिक लगानी र पुँजी प्रवाहमा वृद्धि
आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामा देशको चालु खाता २१० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता चालु वर्षको समीक्षावधिमा १ अर्ब ५५ करोड डलरले बचतमा पुगेको छ ।
त्यस्तै, समीक्षावधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो । साथै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब ४७ करोड रुपैयाँले बढी हो ।
११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा विभिन्न मुलुकबाट नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत आवको सोही अवधिमा १० खर्ब ८२ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । गत आवको सोही अवधिमा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स १५ दशमलव २ प्रतिशतले बढेको थियो ।
चैत मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।
सस्तियो खाद्य वस्तु
चालुआर्थिक वर्षको ९ महिनामा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ३९ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रहेको ४ दशमलव ६१ प्रतिशत मुद्रास्फीतिभन्दा कम हो । चैत महिनासम्मको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहमा २ दशमलव ४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ३ दशमलव ९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यिनै समूहको मुद्रास्फीति क्रमशः ५ दशमलव २२ र ४ दशमलव २० प्रतिशत थियो ।
खाद्य समूहभित्र घ्यू–तेलको मूल्य ११ दशमलव ६३ प्रतिशत, फलफुलको ९ दशमलव शून्य ७ प्रतिशत, दाल–गेडागुडीको ६ दशमलव ५८ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थको ५ दशमलव १६ प्रतिशतले बढेका छन् । तरकारीको मूल्य ५ दशमलव २४ प्रतिशत, मरमसलाको २ दशमलव ३२ प्रतिशत, र मासु–माछाको शून्य दशमलव ८९ प्रतिशतले घटेको देखिएको छ ।
गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य ८ दशमलव ६९ प्रतिशतले, कपडा–जुत्ता ७ दशमलव शून्य १ प्रतिशतले, मदिराजन्य पेय ६ दशमलव शून्य ७ प्रतिशतले, फर्निचर तथा घरेलु उपकरण ५ दशमलव ५९ प्रतिशतले र सुर्तीजन्य वस्तु ४ दशमलव ८३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया