काठमाडौँ । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालका नेताहरूले इन्चार्ज लक्ष्मण केसीले मनोमानी गरेको भन्दै आपत्ति जनाएका छन् ।
इन्चार्ज केसीले शनिबार रोशन थापालाई युवा संघको संयोजक तोकेका थिए । पार्टीको पछिल्लो अपानिबमोजिम भन्दै केसीले नुवाकोटका थापालाई संयोजक तोक्दै समितिलाई पूर्णता दिन धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेको कार्यदल गठन गरेको जनाएका थिए । पार्टीले अपानिमार्फत् संघका अध्यक्ष कृष्ण विश्वकर्मालाई हटाएको थियो ।
तर, इन्चार्ज केसीले थापालाई मनोमानी ढंगले जिम्मेवारी तोकेको भन्दै संघका नेताहरूले निर्णय सच्याउन चेतावनी दिएका छन् । संघका उपमहासचिव सञ्जीव राई, निर्भीक खनाल, सचिवहरू भेषराज शाह र अनिल बोगटीले अपानिविपरीत कार्यदल गठन गरेर जिम्मेवारीमा खटाएको भन्दै आपत्ति जनाएका हुन् ।
‘हिजो इन्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरू एवं कार्यालय कमिटीका सदस्यहरूसँग कुनै छलफल र बैठक नै नगरी संयोजक, सहसंयोजकहरू र पार्टी केन्द्रीय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नुभएकोप्रति हाम्रो घोर आपत्ति छ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्णय सच्चाउन माग गर्दै उनीहरूले अध्यक्ष माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वेदुराम भुसाल, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई बोधार्थ दिएका छन् ।
प्रतिक्रिया