पुष्प तथा पुष्पजन्य वस्तुको अवैध आयात राेक्न फ्यानकाे माग

काठमाडौँ । फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) ले पुष्प तथा पुष्पजन्य वस्तुको अवैध आयात बढ्दै गएको भन्दै चासो व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । फ्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार आवश्यक प्रक्रिया नअपनाई नाकाबाट अवैध रूपमा फूल आयात भइरहेको उल्लेख गरेको छ ।

अवैध आयातका कारण बिरुवासँगै नयाँ रोग र किराफट्याङ भित्रिएकाले नेपाली किसानहरू ठूलो आर्थिक नोक्सानीमा परेको जनाइएको छ । ‘स्वास्थ्यको प्रमाणपत्र विना आयात भइरहेकाले हरेक वर्ष नयाँ रोग फैलिएको र यसको असर स्वदेशी फूल व्यवसायमा देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

फ्यानले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ‘नेपालको बजारको पहिलो अधिकार, स्वदेशी अनि स्थानीय उत्पादन’ भन्ने मान्यतालाई आत्मसात् गर्न व्यवसायी र उपभोक्तामा अपिल गरेको छ ।

त्यस्तै, नेपाल सरकारले २०७९ सालमा राजपत्रमार्फत प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री, वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि यसको प्रयोग अझै जारी रहेको फ्यानले जनाएको छ। होटेल, रिसोर्ट र पार्टी प्यालेसमा प्लास्टिक फूल प्रयोग भइरहेकाले अनुगमन हुनसक्ने भन्दै फ्यानले आफ्ना सदस्यहरूलाई यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया