सुरक्षा पन्तमाथिको आक्रमण : हामी कता जाँदै छौँ ?

आजको समय वैचारिक स्पष्टताको हो । जनताले इतिहास बिर्सेका छैनन् । राजतन्त्रको कालखण्ड, दमन, आन्दोलन, बलिदान । त्यही बाटो पार गर्दै प्राप्त गरिएको गणतन्त्रको जग यति कमजोर छैन, जसलाई एक अभिनेत्रीको सामान्य प्रतिक्रिया वा एउटा चलचित्रको असफलताले हल्लाओस् ।

अञ्जु कार्की

सुरक्षा पन्तलाई एउटा टेलिभिजन अन्तर्वार्ताकारले एक किशोरको तस्बिर देखाउँदै सोधेका थिए, ‘उहाँलाई चिन्नु हुन्छ ?’ जबाफमा उनले भनेकी थिइन्, ‘पारसको छोरा होइन ?’ त्यसपछि अन्तर्वार्ताकारले पुन प्रश्न गरे, ‘भविष्यमा उहाँलाई कुन रूपमा हेर्न चाहानुहुन्छ ?’ यो प्रश्नको उत्तरका क्रममा पन्तले हृदयेन्द्रको लुक्स राम्रो भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन् । उनले भनेकी थिइन्, ‘लुक्स राम्रो छ । अभिनय पनि सक्नुहुन्छ होला । कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ । सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई ।’

प्रश्नकर्ताले थप्दै भने, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु ।’ जवाफमा पन्तले भनिन्, ‘राजा बनाउने भन्ने कुरा कहाँ होला र, हामीले स्वीकारेकै छैनौँ । त्यो त भन्न सकिन्नँ ।’ प्रश्नकर्ताले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो देखाउँदा सुरक्षाले सौहार्दपूर्ण तरिकाले आफ्नो विचार राखेकी थिइन् । उनले पूर्वराजा शाह देशको सामान्य नागरिक, सचेत जनता भनेकी थिइन् । प्रश्नकर्ताले सन्दर्भलाई ‘राजा कि गणतन्त्र’ भन्नेतर्फ लगिरहँदा सुरक्षाले गणतन्त्रमा भइरहेको प्रणालीलाई नै अझ राम्रो बनाउनुपर्ने मत राखेकी थिइन् ।

त्यही अभिव्यक्तिलाई लिएर अहिले सुरक्षामाथि सामाजिक सञ्जालमा राजावादीहरूले आक्रोश पोखिरहेका छन् । उनले त्यसलाई सामान्य ढंगले व्यक्त गरिन्, न अपमानपूर्वक न नै बदनियतसहित । तर यस सामान्य संवादलाई लिएर उनलाई राष्ट्रिय अपमानको रूपमा चित्रण गर्ने, फिल्म बहिष्कारको आह्वान गर्ने र उनीमाथि सार्वजनिकरूपमा आक्रोश पोख्ने प्रवृत्ति देखिनु केबल तिनै वर्गहरूको प्रतिक्रियावादी प्रतिबिम्ब हो, जो अझै पनि राजा फर्कने दिवास्वप्न देखिरहेका छन् ।

अभिनेत्री सुरक्षा पन्तमाथि भएको साइबर आक्रमण, ट्रोल र सामाजिक सञ्जालमा चरित्र हत्या केबल एक कलाकारप्रतिको व्यक्तिगत वैमनस्य वा कुनै चलिरहेको चलचित्रको प्रतिक्रिया मात्रै होइन । यो घटनामा लुकेको गहिरो राजनीतिक पूर्वाग्रह, विचार स्वतन्त्रतामाथिको असहिष्णुता र गणतान्त्रिक मूल्यप्रति मौन वितृष्णा प्रस्ट देखिन्छ । यसै प्रसंगमा एक जना महिलावादी लेखिकाद्वारा प्रस्तुत ‘सुरक्षा पन्तमाथिको आक्रमण ः हामी कता जाँदै छौँ ?’ शीर्षकमा लेखिएको लेखले सतहमा त समानुभूति देखाएको छ, तैपनि, गहिराइमा भने प्रतिगमनकारी मानसिकतालाई नै वैचारिक स्थान दिएको छ ।

अभिनेत्री पन्तको यो तर्कले कोरा राजावादीको पारो तात्नु स्वभाविकै हो । किनकी कोरा राजावादीहरूको दिमागबाट यो भन्दा थप अपेक्षा गर्न सकिन्न । किनकी दास मानसिकता नभएका मान्छे राजावादी हुन सक्दैनन् । तर महिला अधिकारका लागि कलम चलाइरहेका केही लेखिकाहरूबाटसमेत अभिनेतृ पन्तको दृष्टिकोणलाई गलत सावित गर्ने प्रयास हुनुले हाम्रो समाज कता जाँदै छ ? भन्ने प्रश्न उब्जाएको छ । यदि देशमा २०४७ सालको संविधानले निरन्तरता पाएको भए पनि हृदयेन्द्र राजा बन्ने संभावना थिएन । किनकी २०६३ जेठ ४ गते गरिएको संविधान संशोधनले राजाको छोरा मात्रै उत्तराधिकारी हुन पाउने व्यवस्थालाई संशोधन गरी छोरीलाई समेत उत्तराधिकारी बनाएको थियो । उक्त संशोधनअनुसार हृदयेन्द्रकी दिदी पूर्णिका उत्तराधिकारी बनिसकेकी थिइन् ।

नेपालमा महिलासमेत राष्ट्रप्रमुख हुन पाउने सुनिश्चितता गणतन्त्र स्थापनाअघि नै अर्थात २०६३ जेठ ४ गते संसद्बाट गरिएको घोषणामार्फत भएको हो । राजपरिवारमा जन्मने महिलाका लागि यो ऐतिहासिक उपलव्धि थियो । गणतन्त्र स्थापना नभएको अवस्थामासमेत राजाबन्ने सूचीबाट हटिसकेका हृदयेन्द्रको विषयमा अभिनेतृ पन्तले दिएको दृष्टिकोणलाई लिएर चित्त दुखाउनेहरूलाई कसरी महिला अधिकारकर्मी लेखिका भन्ने ?

आवरणमा महिला अधिकारकर्मीजस्ता देखिए पनि राजावादी चिन्तन बोकेकाहरू महिलाहरू पितृसत्तावादी हुन् । उनीहरूका लेखमा यस्तो भाष्य छ कि सुरक्षाले बोल्नुअघि सोच्नुपथ्र्यो, कलाकारहरू जनताको मर्म बुझ्नुपर्छ र उनीहरूको विचारले चलचित्रको सफलतामा असर पर्न सक्छ । यहाँबाट ३ वटा खतरनाक पूर्वाग्रह देखिन्छ । कलाकारले स्वतन्त्र रूपमा बोल्न हुँदैन भन्ने सोच, जनताको नाममा अभिव्यक्तिलाई नियन्त्रण गर्ने प्रयास फिल्म नचलेको दोष पनि अभिव्यक्तिलाई नै दिनु ।

यसरी हेर्दा, यस्ता दृष्टिकोण एकातिर सुरक्षाप्रति ‘दया’ देखाउँछ, अर्कातिर उनीलाई बोल्न नहुने चुपचाप कलामा सीमित कलाकार बन्नुपर्ने सन्देश दिन्छ । यस्ता लेखहरूमा अक्सर ‘दर्शकको भावना’, ‘सामाजिक जिम्मेवारी’, ‘संवेदनशीलता’ जस्ता शब्दहरूको प्रयोग गरिन्छ, जसले अभिव्यक्तिमा निहित शक्ति र स्वतन्त्रतालाई सीमित गर्ने काम गर्छ ।

पूर्वराजपरिवार गणतन्त्रको सन्दर्भमा संवैधानिक संस्थाहरू नै होइनन् । उनीहरूको परिचय पनि नागरिककै रूपमा हुने हो, विशेष हैसियतमा होइन । यस्तो अवस्थामा पूर्वयुवराजको छोरा हो भन्ने सामान्य बोधलाई लिएर आक्रोश गर्नु आफैँमा राजतन्त्रप्रतिको बाँकी मोह देखिन्छ । सुरक्षा पन्तले पूर्वराजपरिवारलाई ‘नचिन्नु’वा स्पष्ट परिचय दिन नसक्नु कुनै असभ्यता होइन । बरु यसले नयाँ पुस्ताको मानसिक प्रवृत्ति देखाउँछ, राजसंस्थाप्रति मोह होइन, सन्देह छ ।

एक जना राजावादी लेखिका लेखमा भनिएको छ, ‘दर्शकलाई तिरस्कार गर्दा उनीहरूले चलचित्र बहिष्कार गरे ।’ यसको अर्थ के हो ? दर्शकलाई नमनाउने व्यक्तिको कला हेर्न नहुने ? यो के लोकतन्त्रको मान्यता हो ? दर्शकहरूले चलचित्र हेर्ने वा नहेर्ने स्वतन्त्र छन्, तर त्यो निर्णय विचारभिन्नताका आधारमा हुनु हुँदैन । कलाकारको विचारसँगै हेरेर बहिष्कार गर्ने संस्कृति तानाशाही प्रवृत्तिको प्रतिफल हो ।

सुरक्षा पन्तको ‘धनपति’ चलचित्रजस्तै सामाजिक विषयमा आधारित ‘घर’ जस्ता चलचित्रहरू हेर्ने सन्दर्भमा दर्शकलाई नै सचेत बनाउनुपर्ने हुन्छ । तर उल्टो, चलचित्र नचलेको दोष सुरक्षाको व्यक्तिगत अभिव्यक्तिमा थोपर्नु दुर्भाग्यपूर्ण प्रवृत्ति हो । समाजमा एक खालको योजनाबद्ध अभियान चलिरहेको देखिन्छ, ‘राजसंस्थाप्रति युवाहरूलाई आकर्षित गराउने, पूर्वराजाका सदस्यहरूलाई ‘फैसनेबल’ बनाई पुनः केन्द्रमा ल्याउने ।’ सामाजिक सञ्जाल, टिकटक, युट्युब जस्ता माध्यमबाट पूर्वयुवराजको छोरा–नातिहरूलाई ‘प्रिन्स’, ‘स्टार’, ‘हिरो’ बनाउने कोशिस चलिरहेको छ । यस्तो अवस्थामा कुनै कलाकारले प्रश्न उठाउँदा त्यसलाई राजावादी आस्थाको घात ठान्नु खतरनाक संकेत हो ।

यो घटनाले देखाउँछ, ‘राजसंस्थाका नाममा भएको आक्रोश केवल एक अभिनेत्रीप्रतिको होइन, यो गणतन्त्रप्रतिको आक्रोश हो । महिला कलाकारहरूलाई बोल्न नदिने, तिनको हरेक बोलीमा दोष खोज्ने प्रवृत्ति गम्भीर विषय हो । सुरक्षा पन्तमाथिको आक्रमणले यो कुरा स्पष्ट पार्छ कि हाम्रो समाज अझै पनि महिला स्वरप्रति असहिष्णु छ । उनीहरूले सार्वजनिक रूपले बोले भने तिनको पहिचानमाथि, करिअरमाथि आक्रमण गरिन्छ । सामाजिक सञ्जालको ‘ट्रायल’ प्रणालीले सोच्न बाध्य पार्छ, हामी गणतन्त्रमा बस्छौँ कि ‘डिजिटल राजतन्त्र’मा ? जहाँ पूर्वराजपरिवारको नाम लिनासाथ जनमत फाँसी दिन तयार हुन्छ ?

अबको बाटो

आजको समय वैचारिक स्पष्टताको हो । जनताले इतिहास बिर्सेका छैनन् । राजतन्त्रको कालखण्ड, दमन, आन्दोलन, बलिदान । त्यही बाटो पार गर्दै प्राप्त गरिएको गणतन्त्रको जग यति कमजोर छैन, जसलाई एक अभिनेत्रीको सामान्य प्रतिक्रिया वा एउटा फिल्मको असफलताले हल्लाओस् । हामीले अब युवालाई इतिहाससहितको लोकतान्त्रिक चेतना दिनुपर्छ । जहाँ स्वतन्त्र विचारको सम्मान होस्, सार्वजनिक बहसमा महिलाको स्थान होस् र सत्ताको मोह नभई नागरिकताको जिम्मेवारीको चर्चा होस् ।

अन्त्यमा, राजावादी रुझानका केही महिला लेखक सतहमा त कलाकारको पक्षमा देखिए पनि गहिराइमा उसकै अभिव्यक्तिमाथि शंका गर्छ, र दर्शकको नाममा प्रतिगमनकारी मानसिकताको समर्थन गर्दछ । यो प्रवृत्तिलाई रोक्न सकिने एउटै उपाय भनेको हो, ‘लोकतन्त्रप्रतिको आस्था, विचार स्वतन्त्रताको रक्षा र महिलामाथिको सार्वजनिक आक्रमणविरुद्ध स्पष्ट प्रतिवाद ।’ हामी कता जाँदै छौँ भन्ने प्रश्नभन्दा पनि अब सोध्नुपर्ने प्रश्न हो, हामी गणतन्त्रलाई जोगाउने हिम्मत राख्छौँ कि राख्दैनौँ ?

प्रतिक्रिया