सर्लाहीमा प्रहरीकै सेटिङमा खुलेआम गाई–गोरुको तस्करी

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमा तस्करले जिल्लास्थित भाँड्सर नाकाबाट अवैधरुपमा गाई–गोरुको खुलेआम तस्करी गर्दै आएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा गाईगोरुको तस्करी यस नाकाबाट निर्वाध रुपमा हुने गरेको छ । तस्करहरुको बढदो सक्रियता र प्रहरीको सेटिङले यस क्षेत्रमा गाईगोरुको तस्करीमा तीव्रता आएको श्रोतले जनाएको छ ।

नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथ रहे पनि गाई–गोरुको तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट गाईगोरुको तस्करी हुदै आइरहेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

माथिल्लो निकायले गाईगोरुको तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्छ, स्थानीय वासिन्दाहरु बताउँछन् । तर गाईगोरुको तस्करी रोक्नेतर्फ भने कुनै पहल नभएको र सर्लाही प्रहरी प्रशासन भने ढाकछोप गरेको देखिन्छ ।

जिल्लास्थित मलंगवा, खुटौना र भाँड्सर नाकाबाट अवैधरुपमा गाई–गोरुको खुलेआम तस्करी हुँदै आएको विषयमा सशस्त्र प्रहरी प्रमुख एसपी देव बहादुर चन्दलाई प्रत्यक्ष फोन सम्पर्क गरि जानकारी गराउँदा यस विषयमा आफूलाई कुनै जानकारी नआएको र अब जानकारी हुन आएमा नियन्त्रणमा लिने उनले बताए ।

श्रोत भन्छन्, ‘गाईगोरुको तस्करी रोक्न जिम्मेवार रहेको एक अर्को प्रमुख निकाय जिल्ला प्रहरी कार्यालय सर्लाहीको पनि संलग्नता रहेकोले गाईगोरुको निर्वाध तस्करी भइरहेको छ ।’ गाई–गोरुको तस्करीले स्थानीय किसानको खेतबारीमा क्षति हुने घटना बढ्दै गएको छ । स्थानीय किसानहरू भन्छन्, ‘हामीले मेहनत गरेर लगाएको बाली एकै रातमा गाई–गोरुले सखाप पार्छन् ।’

गाई–गोरुको तस्करी धर्म र संस्कृतिसँग समेत सम्बन्धित भएकाले नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको बताउँदै गाई–गोरुको तस्करी तत्काल रोक्न सर्लाही प्रहरी प्रशासनसँग माग गरेको छ ।

प्रतिक्रिया