काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरेका हुन् ।
उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर भन्दै सरकारको विरूद्धमा नारा लगाएका छन् । आज कार्यक्रमस्थलबाट नै रेशम चौधरी प्रकाउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ ।
पार्टीका नेताले सरकारले मधेस र थरुहटलाई एक ठाउँ आउन नदिनको लागि यो चाल चलेको आरोप लगाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गर्ने गरी पार्टीले सूचना जारी गरेको थियो ।
तर, आजै रेशमलाई पक्राउ गरेर डिल्लीबजार गारागार लगिएको प्रहरीले जनाएको छ । टिकापुर हत्याकाण्ड घटनाकै प्रकरणमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले रेशमलाई कैलालीको टिकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेश अनुसार पक्राउ गरिएको जानकारी दिए ।
कैलालीको टिकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मले जन्मकैद सजाय तोकेका छन् ।
तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए । चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । कडायत टिकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन् ।
प्रतिक्रिया