नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको बताइएको छ ।

उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।

गत बिहीबार मात्र जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।

टीकापुर घटनाका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । आज बुधबार चौधरीलाई फेरि पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया