काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापालाई सो आदेश दिएको हो ।
उनले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता अनन्तराज लुइँटेलले अदालतको अवहेलनामा सजाय गरी पाउँ भनेर रिट निवेदन दिएका थिए ।
‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालतसमक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू भनी विपक्षीका नाममा यो आदेश जारी गरिदिएको छ,’ फैसलामा भनिएको छ ।
साथै फैसलामा वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने नेपालको संविधानको धारा १७(२) को प्रतिबन्धात्मक वाक्यांश तथा अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमा संघीय संसद्को कुनै सदनमा समेत छलफल नगरिने मान्यता संविधानको धारा १०५ ले आत्मसात् गरेको सन्दर्भलाई समेत आदेशमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया