२०० वर्ष पुरानो जाजरकोट दरबार भत्कियो

सुर्खेत । सेतो घरले चिनिने २०० वर्ष पुरानो जाजरकोटको दरबार भत्किएको छ । केहीदिन यता आएको अविरल वर्षाका कारण जाजरकोट दरबार भत्किएको हो । २०८० कात्तिक १७ मा आएको भूकम्पले पु¥याएको क्षति मर्मत नहुँदा ढल्ने अवस्थामा पुगेको दरबार वर्षाका कारण भत्किएको हो । भूकम्पले क्षतिग्रस्त ऐतिहासिक एवं पुरातात्तिवक महत्व बोकेको जाजरकोट दरबार जीर्ण अवस्थामा थियो ।

२५० वर्ष पुरानो इतिहास बोकेको जाजरकोट दरबार नेपालका १०० पर्यटकीयस्थल मध्येको एक पर्यटकीय स्थलको सूचीमा परेको थियो । १८५२ सालमा १६औँ जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको दरबार भत्किएसँगै सेतो घरको इतिहास पनि मेटिएको छ । सरकारले समयमै चासो नदिँदा ऐतिहासिक दरबारको इतिहास मेटिने खतरा बढेको स्थानीयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमका अनुसार भूकम्पपछि जीर्ण बनेको दरबारलाई गत वर्षको बर्खामा ढल्नबाट जोगाउन त्रिपालले छोपेर राखिएको थियो । तर बुधबार आएको वर्षा सहितको हावाहुरीले दरबार भत्किएको छ ।

झण्डै साढे २ शताब्दीदेखि जाजरकोटको इतिहास र गौरव बोकेको सेतो घर अर्थात जाजरकोट दरबार यस अघिको १९९० सालको भूकम्पबाट पनी क्षतिग्रस्त भएपछि पुननिर्माण गरिएको थियो । दुईपटक भूकम्पबाट क्षति भएपछि पुनर्निर्माण गरिएको दरबार २०८० सालको भूकम्पले पूर्ण रूपमा क्षति पछि पुननिर्माण हुन सकेको थिएन । डेढ वर्षदेखि पुननिर्माणको पर्खाईमा रहेको उक्त दरबार अब भने पूर्ण रूपमा क्षति भएको छ ।

जाजरकोट मात्रै नभएर कर्णालीकै प्रमुख पर्यटकीय र ऐतिहासिक स्थलका रूपमा रहेको सेतो घर संरक्षणमा तिनै तहका सरकारले चासो नदिँदा दरबार भत्किएको स्थानीय बासिन्दाको गुनासो छ । राणाशासनमा निर्माण भएको यो दरबार जाजरकोट राज्यको प्रशासनिक केन्द्रको रूपमा प्रयोग गरिन्थ्यो । २००७ सालपछि यो दरबार ऐतिहासिक महत्वको स्थान बनेको थियो । राणाकालीन नेपाली वास्तुकला (ढुंगे भित्ता, काठको नक्काशी, ठूला बुट्टा भरिएको झ्याल, ढोकाले यस दरबारको सुन्दरता बढाएको छ । ऐतिहासिक महत्व बढ्दै गइरहेको दरबार भने अहिले उपेक्षित अवस्थामा छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया