विष्ट, सिंह र खड्कालाई उपाधि

काठमाडौ : नेपाली सेनाका श्याम विष्ट, पर्वतारोही आशाकुमारी सिंह तथा हरेराम खड्काले काठमाडौंमा सम्पन्न छैटौँ राष्ट्रिय स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिपमा उपाधि हात पार्न सफल भएका छन् ।
पर्वतीय खेल महोत्सवअन्तर्गत काठमाडौंको महाराजगन्जस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा दुई दिन भएको खेलमा उनीहरू विभिन्न तीन विधामा च्याम्पियन बनेका हुन् । लिड क्लाइम्बिङतर्फ हरेराम खड्काले उपाधि हात पार्दै २० हजार रुपियाँ र एभरेष्ट अवार्ड हात पारे । त्यस्तै, अनुप गुरुङ दोस्रो बन्दै नगद १० हजार रुपियाँ र लुम्बिनी अवार्ड प्राप्त गर्न सफल भए । तेस्रो बनेका पासाङ टेन्डी शेर्पाले नगद ५ हजार रुपियाँ र अन्नपूर्ण अवार्ड हात पारे ।
टप रोप विद्यामा भने पुरुषतर्फ नेपाली सेनाका श्यामबहादुर विष्टले पहिलो स्थान हात पार्दा नेपाल स्काउटका प्रकाश श्रेष्ठ दोस्रो बने । राजु राई तेस्रो भए । विष्टले नगद २० हजार र एभरेष्ट अवार्ड, श्रेष्ठले नगद १० हजार र लुम्बिनी अवार्ड तथा राईले नगद ५ हजार र अन्नपूर्ण अवार्ड पाए । महिलातर्फको खेलमा भने पर्वतारोही आशाकुमारी सिंह पहिलो बन्दै नगद २० हजारको हकदार बनिन् । त्यस्तै, अर्का पर्वतारोही निङ डोमा शेर्पा दोस्रो बनेर नगद १० हजार रुपियाँ पाइन् । याङ्दी शेर्पाले भने नगद ५ हजार पाइन् । सिंहलाई
एभरेष्ट अवार्डबाट, डोमालाई लुम्बिनी अवार्डबाट तथा याङ्दीलाई अन्नपूर्ण अवार्डबाटसमेत प्रदान गरिएको थियो ।
नेपाल स्पोर्टस् क्लाइम्बिङ एसोसिएसनको आयोजनामा भएको यस प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल स्काउटसहितका गरी ९३ खेलाडी सहभागी थिए । (सौस)

प्रतिक्रिया