भिजन लुम्बिनी उर्जा कम्पनी व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले कम्पनीले आईएसओ ९००१–२०१५ प्राप्त गरेको हो । बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मुल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए ।

काठमाडौंको बुद्धनगरस्थीत बुटवल पावर कम्पनीको भवनमा कार्यालय रहेको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्रमाणपत्र ग्रहणका लागि आइतबार आयोजना गरेको कार्यक्रममा उनले कम्पनी सञ्चालनमा विश्वस्तरको मुल्य मान्यता र मापदण्डहरु पालना गर्न भिजन लुम्बिनी प्रतिबद्ध रहेको बताएका थिए । धेरै जनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शीता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाई थियो ।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनी उर्जा कम्पनीले झै सबै उर्जा कम्पनीहरुले यस्तो प्रमाणपत्र लिनुपर्नेमा जोड दिए । उर्जा कम्पनीहरुले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने उर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनाहरुलाई न्यूनिकरण गर्न सहयोग गर्ने उनको भनाई थियो ।

कार्यक्रममा अतिथिको रुपमा सहभागी भएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी पहिलेदेखि नै काम गर्दै आइरहेको भिजन लुम्बिनीले अहिले प्रमाणपत्र पाएर त्यसलाई पुष्टि गरेको बताए । उनले अन्तर्राष्टिय गुणस्तर चिन्ह र प्रमाणपत्र पाएपछि भिजन लुम्बिनीमा गरिएको लगानी दुरुपयोग हुदैन भन्ने सुनिश्चिता भएको उल्लेख गरे ।

देशमा विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिस्तरमा काम गर्ने कम्पनीहरु पनि छन भन्ने सन्देश दिन भिजन लुम्बिनी सक्षम भएको धारणा उनले राखे । नेपालमा भिजन लुम्बिनी जस्ता व्यवस्थीत र पारदर्शी कम्पनीहरु पनि धेरै छन भन्ने सन्देश दिएर नेपाली सञ्चार माध्यमहरुले व्यवसायीक विषयलाई प्राथमिकतामा राख्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नका लागि मूल्यांकनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरीले तीन महिनासम्म कम्पनीको सर्वपक्षीय मुल्यांकन गरेर मात्रै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए ।

भिजन लुम्बिनी उर्जा कम्पनी सेतीखोला जलविद्यूत परियोजना सम्पन्न गर्दा अन्य परियोजनाको तुलनामा निकै छिटो काम सम्पन्न गरेको, मितव्ययी र पारदर्शी भएको, सामान्य नागरिकलाई पनि विद्युत परियोजनाको मालिक बनाएको, कुनै विवाद र अवरोध विना काम सम्पन्न गरेको लगायतका विषेशता भएको कम्पनीको रुपमा चिनिदै आएको परियोजनाका प्रमुख व्यवस्थापक कुसल क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक उत्तर कुमार श्रेष्ठ, पूर्वनिर्देशक गणेश श्रेष्ठ, पत्रकार जीवन भण्डारी लगायतले अन्तराष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेकोमा बधाई दिएका थिए ।

प्रतिक्रिया