कोइरालाको अन्त्येष्टी

स्वर्गीय कमल कोइरालालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा ।

काठमाडौँ । बरिष्ठ पत्रकार, लेखक, पूर्वराजदूत तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमल कोइरालाको सोमबार अन्त्येष्टी गरिएको छ । पशुपति आर्यघाटमा उनका छोरा डा.कञ्चन कोइरालाले दागबत्ती दिएका थिए ।

आइतबार साँझ निधन भएका कोइरालाको पार्थिव शरीर त्यसअघि श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको थियो । उनको पार्थिव शरीरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

कोइरालालाई अन्तिम श्रध्दाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली संसद्बाट सोझै नेकपा (एस) को पार्टी कार्यालय आलोकनगर पुगेका थिए । ओली एकीकृत समाजवादीको पार्टी कार्यालयमा पहिलोपटक गएका हुन् ।

यस्तै उनलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहलगायत विभिन्न पार्टीका नेता समाजवादीको कार्यालय पुगेका थिए ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल सानै उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय भएका थिए ।

प्रतिक्रिया