आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तर्राष्ट्रिय उडान

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही ५ चैतमा चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको २ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवद्र्धनात्मक कार्यकम गरी मंगलबार फर्किएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा गरिएको ऐतिहासिक उडानका साथै नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएका विटुबी, सेल्समिसनलगायतका प्रवद्र्धनात्मक कार्यक्रमले ठूलो आशा एवं विश्वास जगाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चार्टर्ड उडान सुरु गरेको छ । पहिलो उडानका क्रममा त्यहाँका सरकारी निकायका प्रतिनिधि, चिनियाँ पर्यटन व्यवसायीसँग गरिएका छलफल एवं बिटुबी, सेल्स मिसन आदिले आगामी दिनमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने विश्वाससँगै उत्साह जगाएको अध्यक्ष पहारीले उल्लेख गरे ।

‘उडानलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा चिनियाँ प्रतिनिधिमण्डल सक्रियताका साथ लागेको पायौँ’, उनले भने, ‘दुई देशबीचको पर्यटकीय साझेदारी बढाउने कुरामा दुवै पक्षबीच महत्वपूर्ण छलफल एवं अन्तरक्रिया भएका छन् ।’
चीनको सिचुवान प्रान्तमा मात्रै ९ करोड जनसंख्या रहेकामा छेन्दु र छोङछिङबाट अधिकतम पर्यटकहरू घुम्न निस्कने गरेको उनले जानकारी गराए । कार्यक्रममा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएको बिटुबी र सेल्समिसन भव्यताका साथ सम्पन्न भएकोे बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
‘यो कार्यक्रमसँगै चीन केबल काठमाडौँबाट मात्र नभई पोखराबाट पनि जोडिएको छ’, उनले भने, ‘काठमाडौँबाहेकका गन्तव्यबाट चीन जोडिएको छ भन्ने सन्देशसँगै पोखरा धेरै चीनका सहरसँग मैत्रीपूर्ण सम्बन्ध भएको सहर भएको र यहाँबाट सिधै उडान सुरु भएको सन्देश मितेरी सहरहरूमा पुगेको छ ।’

काठमाडौँमा मात्र नभई पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसमेत रहेको जानकारी दिँदै उनले पोखरामा विमानस्थलबाट गरिएको छेन्दुको सीधा उडानले काठमाडौँबाहेकका विमानस्थलको अन्तर्राष्ट्रिय बजारमा जानकारी गराएको बताए ।

उनका अनुसार पहिलो व्यावसायिक उडानका क्रममा बोर्डको आयोजनामा गरिएका छेन्दु र छोङछिङका कार्यक्रम पोखराको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण बनेका छन् । बोर्डले यसअघि छेन्दुमा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको भए पनि छोङछिङमा पहिलोपटक कार्यक्रम गरेको हो । यी दुवै कार्यक्रमको त्यहाँस्थित चिनियाँ सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए ।

नेपालमा सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक आएकामा त्यसपछि कोभिड–१९ का कारण सो संख्या घटेर सन् २०२० मा १९ हजार २५७ पुगेको थियो । त्यसपछि सन् २०२१ मा ६ हजार १९८, सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

कोभिड १९ सँगै आफ्ना नागरिकलाई बाहिरी राष्ट्रमा घुमफिरका लागि रोक लगाएकोमा सन् २०२३ मार्चबाट नेपाल भ्रमण गर्न खुला गरेको थियो । त्यस वर्ष ६० हजार ८७८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा नेपालमा चिनियाँ पर्यटकको संख्या १ लाख १ हजार ८७९ जना पुगेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।
त्यहाँस्थित चिनियाँ पर्यटन व्यवसायीका अनुसार चीनमा अंग्रेजी महिनाको जुन र जुलाईमा विद्यालय बन्द हुन्छन् । सो समयमा अभिभावक आफ्ना बालबच्चा लिएर भ्रमणमा निस्कन्छन् । उनीहरू छोटो दुरीका रूपमा विशेषत हङकङ वा थाइल्यान्ड जाने गर्दछन् । थाइल्यान्डको दुरीमा रहेको पोखरा उनीहरूका लागि अर्को महत्वपूर्ण गन्तव्य बन्न सक्ने उनीहरूको भनाइ छ ।

आगामी ३ महिनामा करिब १ हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्गहुँदै सीधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले जनाएको छ ।

कार्यक्रमकै क्रममा पोखरासँग मितेरी सम्बन्ध अघि बढेको लुझेउ सहरका नगरप्रमुख यु छिन्हीसँग पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको औपचारिक भेटवार्ता भएको थियो । महानगर प्रमुख आचार्य र उनीसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगरप्रमुख छिन्हीले स्वागत गरेको थियो ।

प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका–२१ का वडाध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए । त्यस्तै लुझाउ नगरका तर्फबाट साउथ वेष्ट मेडिकल युनिभर्सिटीका अध्यक्ष हि ताओ, नगरका उपप्रमुख लुओ सुपिङलगायतको सहभागिता थियो ।

उक्त भेटमा पोखरा–छेन्दु नियमित उडानसँगै पोखरा र लुझाउसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा दुवै पक्ष सहमत भएका थिए । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका क्षेत्रमा साझेदारी बढाउने, लुुझाउमा रहेको परम्परागत चिकित्सा प्रणालीका लागि सहकार्य गर्ने आदि विषयमा महत्वपूर्ण छलफल गरिएको थियो ।

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएका कारण चिनियाँ पर्यटकको रोजाइमा यो पर्ने गरेको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई बताउछन् । पछिल्लो समयमा पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू बनिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया