नवलपुर । विगत ९ वर्षदेखि अलपत्र परेको यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदी गडगडी घाटको पक्की पुल चाँडै निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् ।
नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका–४ मधुवन जोड्ने पक्की पुल निर्माण सुरु भएको ९ वर्षमा पनि सम्पन्न नभएपछि स्थानीयवासी ‘डेलिगेशन’ लिएर सडक विभाग पुगेका हुन् ।
पटक–पटक निर्माण कम्पनी र पुल सेक्टर कार्यालय पोखरालाई पुल निर्माण सम्पन्न गर्न आग्रह गर्दा कामले गति नलिएपछि विभागलाई गुहार्न परेको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य विद्रोही गिरीले बताए ।
पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौली, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीसहितको टोलीले सडक विभागका महानिर्देशक रामहरि पोखरेलाई भेटेर थपिएको म्यादभित्रै पुल निर्माण सम्पन्न गर्न आग्रह गरिएको गिरीले जानकारी दिए ।
विसं २०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरासँग सम्झौता भई लुम्बिनी बिल्डर्स–नागार्जुन–स्वच्छद जेवीले काम थालेको थियो । सम्झौता अनुसार विसं २०७७ वैशाख २८ गते पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । हाल थपिएको म्याद अब एक वर्ष मात्र छ ।
हरेक हिउँदमा केही मजदुर मात्रै काममा लगाउने र केही समयपछि बर्खा लाग्यो भनेर काम नगर्ने परिपाटीले पुल निर्माणमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष सुनारीले बताए । हालसम्म पुलको भौतिक तथा वित्तिय प्रगति ५० प्रतिशत मात्र छ । निर्माणमा देखिएको समस्या हल गरेर समयमै काम सम्पन्न गराउने महानिर्देशक पोखरेलले आश्वासन दिए ।
कालीगण्डकी नदीमाथि २२० मिटर लामो पुलको ६ वटा पिल्लर बनाउनुपर्नेमा पाँच वटा बनिसकेको र एउटा बनाउन बाँकी छ । नवलपुर जिल्ला सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुँदै पोखरा पुग्ने यात्रुका लागि यो पुल निर्माण हुँदा यात्रामा १५ किलोमिटर बाटो छोटो हुन्छ ।– रासस
प्रतिक्रिया