मतदाता नामावली संकलनमा अवरोध

चितवन, १६ चैत । नेकपा–माओवादीका कार्यकर्ताले फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध पुर्‍याएका छन् । विभिन्न जिल्लामा मतदाता नामावली संकलनका लागि गाउँ पुगेको जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको काममा पार्टीका कार्यकर्ताले अवरोध पुर्‍याएका हुन् ।

चितवनको कविलासमा बिहीबारबाट सुरु भएको दोस्रो चरणको मतदाता नामावली संकलन कार्यमा पनि नेकपा–माओवादीका कार्यकर्ताले अवरोध गरेका छन् । तिनको दलको निर्णय नमान्ने भन्दै उनीहरूले अवरोध पुर्‍याएका हुन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार कविलासको जुगेडीमा बिहीबारबाट सुरु भएको मतदाता नामावली संकलनमा नेकपा–माओवादीको कार्यकर्ता बताउने केही व्यक्तिले अवरोध पुर्‍याएका थिए ।
कार्यकर्ताले मतदाता अद्यावधिक कार्यमा प्रयोग हुने फारमसहित महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएका थिए । अन्य सामग्री भने सुरक्षित रहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ । कविलासमा अवरोध उत्पन्न भएसँगै निर्वाचन कार्यालय र सुरक्षा निकायको टोली कविलास पुगेर घटनाका विषयमा जानकारी लिएको छ ।
‘तीन दल र मधेसी मोर्चाको एकलौटी निर्णय हामीलाई मान्य छैन, यसकारण निर्वाचनमा यस्तो निर्णय विरोधका लागि अवरोध पुर्‍याएका हौँ,’ नेकपा–माओवादी चितवनका नेता विपिनले भने । निर्वाचन आफूहरूलाई मान्य नहुने र गोलमेच सम्मेलनमार्फत राजनीतिक गतिरोधको गाँठो फुकाउनुपर्ने माग गर्दै आफूहरू आन्दोलित भएको उनको भनाइ छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्म अद्यावधिक कार्यमा मुलुकका २६ जिल्लामा बाधा पुर्‍याइएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले ६ चैतदेखि दोस्रो चरणको मतदाता नामावली संकलन सुरु गरेको हो ।
यस्तै, मकवानपुरमा मतदाता नामावली संकलनमा अवरोध पुर्‍याउने नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
चुनावी सरकारले आगामी संविधानसभाको निर्वाचनको मिति तयपछि थालेको मतदाताको नामावली संकलन अभियानलाई असफल पार्न मकवानपुरको विभिन्न ठाउँमा अवरोध गरिएको छ । सार्वजनिक कार्यक्रममै नामावली संकलनमा अवरोध पुर्‍याउने बताएको नेकपा–माओवादीका कार्यकर्ताले हेटौंडा नगरपालिका क्षेत्रसहित विभिन्न गाविसमा अवरोध पुर्‍याएका छन् ।
हेटौंडा–८ नम्बर वडामा नामावली संकलनमा आएका मतदान कार्यालयका कर्मचारीलाई धम्क्याउँदै उपकरण खोस्ने क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच भएको विवादपछि प्रहरीले दुई माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ भने अन्य फरार भएका छन् । उपकरण खोस्ने मजदुर नेता कृष्णराज कोइराला र रवीन्द्र देउलालाई पक्राउ गरिएको हो ।
यस्तै, हर्नामाडीमा पनि कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा गाविस भवनको टेबुलकुर्सी फुटेका छन् । झडपमा केही माओवादी कार्यकर्ता घाइते भएका छन् । त्यस्तै, माओवादीका कारण हटिया, मनहरी, नामटार र हेटौंडाका केही वडा समितिमा अवरोध पुर्‍याइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अवरोधपछि सिडिओ कार्यालयले प्रहरी परिचालन गर्दै नामावली संकलनलाई निरन्तरता दिएको छ ।
गुल्मीमा पनि मतदाता नामावली अद्यावधिकको काममा नेकपा–माओवादीले अवरोध पुर्‍याएका छन् । उनीहरूले फोटोसहितको मतदाता नामावली संकलन गर्न प्रयोग गरिएका कागजपत्र बिहीबार नियन्त्रणमा लिएका छन् । मगरात राज्यसमिति सदस्य टेकराज पोखरेलको नेतृत्वमा आएको पाँचजनाको टोलीले सिद्धार्थ प्राविमा मतदाता नामावली संकलनमा प्रयोग गरिएको कागजात र फाइल कब्जामा लिएको निर्वाचन अधिकृत डिल्लीराज बेल्बासेले जानकारी दिए ।
बिहीबारदेखि १७ गतेसम्म रियालेमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम छ । निर्वाचन शिक्षा कार्यक्रमका कार्यकर्ता दानबहादुर सेनले नामावलीको लगत संकलन गरिरहेका बेला केन्द्रीय कार्यक्रम भन्दै उनीहरूले कागजपत्र कब्जामा लिएको स्थानीय धीरेन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया