वैदेशिक व्यापार घाटा ९ खर्ब ८७ अर्ब, निर्यात व्यापारमा सुधार

चालु आवको ८ महिनामा

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६ दशमलव २२ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार १५ दशमलव २९ प्रतिशतले बढेको हो । वैदेशिक व्यापार बढेसँगै व्यापार घाटा पनि बढेको छ ।

१२६ मुलुकसँग व्यापार घाटा, ३४ सँग नाफा

चालु आर्थिक वर्षको ८ महिनामा नेपालले ३४ मुलुकसँग नाफामा र १२६ मुलुकसँग घाटाको व्यापार गरेको छ । भन्सार विभागलेको तथ्यांकले भारत, चीन, अर्जेन्टिना, युक्रेनलगायत मुलुकसँग घाटामा व्यापार गरेको देखाएको हो । अफगानिस्तान, डेनमार्क, रुस, अस्ट्रिया, लाटभियालगायत मुलुकसँग नाफामा व्यापार गरेको विभागको तथ्यांक छ ।

नेपालको भारतसँग ५ खर्ब ६३ अर्ब ६७ करोड ६१ लाख रुपैयाँले व्यापार घाटा छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब २५ अर्ब ८८ लाख रुपैयाँको वस्तु बेच्दा भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोड ४९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । चीनसँग २ खर्ब १७ अर्ब ६ करोड ३५ लाख रुपैयाँ, अर्जेन्टिनासँग ४६ अर्ब ४७ लाख, युक्रेनसँग १८ अर्ब ५५ करोड ४४ लाख रुपैयाँको व्यापार घाटा छ ।

अफगानिस्तानसँग ६५ करोड ७९ लाख, डेनमार्क १८ करोड ९० लाख, रुससँग २ करोड ५० लाख रुपैयाँले नेपालको व्यापार नाफामा रहेको विभागको तथ्यांक छ । नेपालले ६७ करोड ३८ लाख ८५ हजार रुपैयाँको वस्तु बिक्री गर्दा अफगानिस्तानबाट १ करोड ५९ लाख १९ हजार रुपैयाँको मात्रै वस्तु आयात गरेको छ ।

निर्यात व्यापारमा सुधार

चालु आर्थिक वर्षमा निर्यात व्यापारमा क्रमशः सुधार देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालु आवको फागुनसम्ममा नेपालबाट हुने निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार केही महिना यता निर्यात व्यापारमा निरन्तर सुधार आएको छ । विभागका अनुसार चालु आवको ८ महिनाको अवधिमा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ८ महिनाको अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्ममा मुलुकले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको यसै अवधिको तुलनामा चालु आवको फागुन महिनासम्म कुल आयात ११ दशमलव २० प्रतिशतले बढेको हो । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२ दशमलव ३ प्रतिशत तथा आयातको ८७ दशमलव ८७ प्रतिशत रहेको छ ।

भन्सार विभागका अनुसार वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैँची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, जडिबुटी, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ, भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

४२ अर्ब रुपैयाँको अन्न भित्रिएको छ । चामल, धान, गहुँ, मकैलगायत अन्न भित्रिएका हुन् । चालु आवमा मकै १२ अर्ब ८९ करोड रुपैयाँको २ लाख ४५ हजार मेट्रिक टन भित्रिएको छ । मकै अर्जेन्टिना, भारत, ब्राजिल, बंगलादेशलगायत मुलुकबाट आयात भएको हो । भारत, चीन, थाइल्यान्ड, जापानलगायत विभिन्न मुलुकबाट १२ अर्ब ३२ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको चामल भित्रिएको छ । नेपालमा काउली, ब्रो काउली, आलु, टमाटर, प्याज, लसुन लगायतका विभिन्न तरकारी ४ लाख ९५ हजार ९४५ मेट तरकारी आयात भएको छ । त्यसका लागि २८ अर्ब ६४ करोड ६६ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया