समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले चैत १५ गते संघीय राजधानी काठमाडौंमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो ।

आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको नेसपाका नेता महिन्द्र राय यादवले नेपालखबरलाई जानकारी दिए ।

उनका अनुसार समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको हो । आइतबार काठमाडौंमा राजावादीले प्रदर्शन गरेका थिए । त्यसपछि सबै राजावादी समर्थित दलबाहेक अन्य दलले यसको विरोध गर्दै आइरहेका छन् ।

समाजवादी मोर्चामा आवद्ध दलहरूले त राजावादीको प्रदर्शनको विरोधमा काठमाडौं केन्द्रित प्रदर्शनको तयारी गरेको हो । मोर्चाको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी पनि सहभागी छन् ।

गणतन्त्रको बलियो आधारबाट आतंकित भएर राजावादीहरुले यस्ता कार्यहरू गरेको समाजवादी मोर्चाको ठहर छ । समाजवादी मोर्चाले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरुले ठूलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया