काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रले पछिल्लो समय राजावादी सक्रिय हुनुमा सरकार दोषी भएको निष्कर्ष निकालेको छ । प्रतिपक्षी दल माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको हो ।
सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताए ।
माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिए । उनका अनुसार त्यसका लागि समाजवादी मोर्चामा रहेका दलसँग छलफल गरेर कार्यक्रम तय गर्ने तयारी छ ।
सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर गरेको प्रवक्ता सापकोटाले बताए । माओवादीले सदन र सडकबाट पूर्वराजाको गतिविधिको विरोध गर्ने निर्णय पनि गरेको बताइएको छ ।
प्रतिक्रिया