काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालमा हाल विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको बताएको छ । नेपालका लागि ४ वर्षे (सन् २०२५–२०२९) रणनीति कार्यायोजन प्रस्तुत गर्दै एडिबीले यस्तो जानकारी दिएको हो । एडिबीले कुल ४ दशमलव ३ अर्ब डलर लगानी भएको जनाएको छ । ती परियोजनामार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडिबीको भनाइ छ ।
त्यसअवसरमा एडिबी नेपालका लागि आवासीय निर्देशक अर्नोड काउचोइसले एडिबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बैंकले नेपालको विकासमा निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारको रूपमा व्याख्या गर्दै सूचना प्रविधि (आइसिटी), ऊर्जा तथा पर्यटन क्षेत्रमा विशेष ध्यान दिइरहेको उल्लेख गरे । उनले बैंकमार्फत नेपालमा पूर्वाधार विकास र खर्च बढाउँदै आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे ।
यद्यपि सन् २०१८ यताका वर्षहरूमा खर्चमा उल्लेख्य कमी आएको उनको भनाइ थियो । बैंकले आर्थिक वर्ष २०२३ र २०२४ मा खर्च कार्यान्वयन दर ८० प्रतिशतभन्दा तल झरेको र यो प्रवृत्ति आर्थिक विकासमा चुनौती हुनसक्ने उल्लेख जनाएको छ । पर्यटन, घरजग्गा, व्यापारजस्ता सेवाक्षेत्र आर्थिक वृद्धिका प्रमुख चालक बन्ने पूर्वानुमान गरिएको उनको भनाइ छ ।
कार्यक्रममा अमेरिकी दूतावासका आर्थिक तथा व्यापारिक अधिकृत ड्यारिन क्रिस्टेन्सेनले एमच्याम नेपालद्वारा आयोजना गरिएको यो शृंखलाले अमेरिकी कम्पनीलाई नेपालमा व्यवसाय बिस्तार गर्न उत्प्रेरित गर्ने बताए । एडिबी र विश्व बैंक समूहका परियोजनाहरूले नेपालका सूचना प्रविधि, ऊर्जा तथा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने भन्दै उनले यी संस्थाहरूको उपस्थितिलाई प्रशंसा गरे ।
नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रमुख वाणिज्य अधिकृत सिआओबिङ फेङले नेपाली तथा अमेरिकी व्यवसायीहरूलाई आपसी साझेदारीमा जोड्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले नेपाली कम्पनीहरूलाई सेलेक्ट ‘युएसए’ कार्यक्रममा सहभागी गराउन प्रोत्साहित गर्ने जानकारी गराए ।
अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम) नेपालले काठमाडौँमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडिबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी ३ वटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेको एमच्यामले जनाएको छ ।
उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवद्र्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवद्र्धन र वातावरणी दिगोपन तथा जलवायु सशनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले जनाकारी दिए । एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले स्वागत मन्त्व्य राख्दै नेपाललाई व्यापार र लगानीको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले एमच्याममले अमेरिकी व्यवसाय समुदाय र नेपाल सरकारबीचको पुलको काम गरिरहेको बताए ।
प्रतिक्रिया