प्रचण्डको दाबी– माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेस आन्दोलन सम्भव भएको हो

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेस आन्दोलन सम्भव भएको दाबी गरेका छन् ।

जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेस आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गरे ।

अध्यक्ष दाहालले सक्कली मधेसवादी आफ्नै दल भएको दाबी गरे । सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको उनको आरोप थियो ।

‘हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायौँ तर मधेशवादी भनिएका दलहरुले नै उहाँलाई हराए’, अध्यक्ष प्रचण्डले भने, ‘विगतमा जे भए पनि अब माओवादी र मधेसका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।’ उनले मधेसको मुद्दा उठान पार्टीले अभियान सुरु गरेको बताए ।

प्रतिक्रिया