तत्कालका लागि पाथीभरामा केबलकार निर्माण स्थगन

असन्तुष्ट पक्षलाई सरकारले बोलायो वार्तामा

काठमाडौँ । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम तत्कालका लागि रोक्दै गृह मन्त्रालयले केबलकार निर्माणको विषयमा भइरहेको विवादबारे असन्तुष्ट पक्षलाई वार्तामा बोलाएको छ । सरकारले गठन गरेको वार्ता समितिले तत्काललाई केबलकार निर्माण स्थगित गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो ।

सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या वार्ताकै माध्यमबाट समाधान हुने भन्दै हाललाई केबलकारको निर्माण कार्य स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आह्वान गरेको हो ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले माघ २० गते गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता टोलीका संयोजक भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएकाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थागित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु ।’

वार्ता टोलीले माघ २२ गतेबाट निरन्तर रूपमा वार्ता र संवाद गरिरहेको छ । तर, केवलकार बनाउन नहुनेमा पहिचानवादीहरू समेत मिसिएपछि अहिले त्यहाँको अवस्था झन् तनावपूर्ण हुँदै गइरहेको छ । केही दिनअघि केबलकार निर्माणमा असन्तुष्ट पक्षले आन्दोलन गर्दा झडपसमेत भएको थियो ।

सरकारी पक्षले यसअघि २ पटक संवादका लागि आन्दोलनरत पक्षलाई बोलाइसकेको छ भने एक पटक वार्ता भए पनि सहमति जुट्न नसक्दा ताप्लेजुङमा झडप बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको छ ।

प्रतिक्रिया