सन् २००४ मा तराईमा पहिलोपटक १ जनामा देखिएको डेंगु २० वर्षको अन्तरालसम्म आइपुग्दा मनाङबाहेक नेपालका सबैजसो भू–भागमा पुग्नु आफैँमा अचम्मित पार्ने तर चिन्ताको विषय हो । विगतमा मुख्यतया मनसुन तथा पोस्ट मनसुन सिजनमा देखिने डेंगु भाइरस हाल लगभग १२ महिना नै देखिन थालेको देखिन्छ । डेंगु मात्र नभई अरू कीटजन्य रोगहरू पनि विगतमा भन्दा बढी ठाउँहरूमा बिस्तार भएका देखिन्छन् ।
एक दशक अगाडिसम्म पनि कीटजन्य रोग विशेषतः तराईमा मात्र देखिने गर्दथ्यो । त्यस्तै काठमाडौँलगायत पहाडी क्षेत्रमा खाना तथा पानीजन्य रोगको प्रभाव बढी हुने गर्दथ्यो । खाना तथा पानीजन्य रोग भन्नाले टाइफाइड, कमलपित्त, हैजाजस्ता रोगहरू हुन् । कीटजन्य रोगअन्तर्गत भने विशेषतः औलो, स्क्रब टाइफस, कालाज्वरो, डेंगु, चिकुनगुनिया, वेस्ट नाइल भाइरसजस्ता रोगहरूलाई भन्न खोजिएको हो ।
यी रोगहरूबाहेक पनि ज्वरो तथा झाडापखाला गराउने धेरै संक्रमणहरू नेपालमा रहेका र मौसमअनुसार देखिने गरेको अस्पतालका तथ्यांकहरूबाट पनि थाहा हुन्छ । तर जलवायु परिवर्तनको असर–प्रभावसँगै विशेष मौसम तथा सीमित भूगोलमा मात्र देखिने गरेका संक्रमणहरू नयाँ स्थान तथा बेमौसमी समयमा देखिन थालेको पछिल्ला केही वर्षयताका तथ्यांकहरूले देखाउँदछ । अर्थात् तराईको हावापानीमा मात्र देखिँदै आइरहेको कीटजन्य रोगहरू पहाड हुँदै हिमालतिर स्थानान्तरण भइरहेका देखिन्छन् ।
गत वर्ष (सन् २०२४) डेंगु तराई, पहाड र हिमाली भेग गरी नेपालको लगभग सबै ठाउँमा (एक हिमाली जिल्ला मनाङबाहेक) पुगेको वा देखिएको नेपाल सरकारले पुष्टि गरेको थियो । सन् २००४ मा तराईमा पहिलोपटक १ जनामा देखिएको डेंगु २० वर्षको अन्तरालसम्म आइपुग्दा नेपालको सबैजसो भू–भागमा पुग्नु आफैँमा अचम्मित पार्ने तर चिन्ताको विषय हो ।
भौगोलिक बिस्तार मात्र होइन, मौसमको अवधिमा समेत डेंगु भाइरसको बिस्तार भएको देखिन्छ । जस्तै विगतमा मुख्यतया मनसुन तथा पोस्ट मनसुन सिजनमा देखिने डेंगु भाइरस हाल लगभग १२ महिना नै देखिन थालेको देखिन्छ । डेंगु मात्र नभई अरू कीटजन्य रोगहरू पनि विगतमा भन्दा बढी ठाउँहरूमा बिस्तार भएका देखिन्छन् ।
नेपालको तापक्रम पनि बर्सेनि बढ्दो रहेको विभिन्न अध्ययन–अनुसन्धानहरूले देखाएका छन् ।
यसरी तापक्रम बढ्दा संक्रमण फैलाउने कीटहरूका लागि वातावरण उपयुक्त हुने हुँदा तराईबाट पहाड तथा हिमालतिर आफूलाई स्थानान्तरण गर्दै नयाँ ठाउँमा स्थानीय (रैथाने) जीव–कीटको रूपमा स्थापित भई संक्रमण फैलाउने गर्दै आइरहेको छ । सम्भवतः यो पंक्तिकारले पहिलोपटक नेपालमा कालाज्वरो कीटजन्य रोग तराईबाट पहाडतिर फैलँदै गइरहेको बारेमा गरिएको अनुसन्धान लेख प्रकाशित गरेको थियो । सुरुमा फरक संक्रमणको (रोग) अनुसन्धानका लागि तथ्यांक संकलन गर्दै गर्दा कालाज्वरो बिरामीहरूको स्थायी बसोबास पहाडी क्षेत्रमा देखेपछि पंक्तिकारको ध्यान विशेष रूपमा खिचेको थियो ।
वास्तवमा, सो समयसम्म कालाज्वरो रोग पूर्वी तराईका १३ जिल्लामा मात्र सीमित छ भनेर भन्ने गरिन्थ्यो । तर, अनुसन्धानको अभावमा कालाज्वरो रोगले आफ्नो भौगोलिक सिमाना बिस्तार गर्दै गरेको बारेमा नेपाल सरकार नै अनभिज्ञ भएको देखिन्छ ।
पंक्तिकारले कालाज्वरो तराईबाट पहाडतिर फैलँदै गरेको छ भन्ने नतिजा अनुसन्धान लेखमार्फत् प्रकाशित गरेपछि पहाडी क्षेत्रमा कार्यरत चिकित्सकहरूलाई कालाज्वरो रोगको निदान तथा उपचार गर्न सहज भएको थियो । त्यो लेख प्रकाशित हुनुभन्दा अगाडि कालाज्वरो पहिचान नहुँदा उपचारका लागि काठमाडौँ नै पठाउनु पर्ने बाध्यता पहाडी इलाकामा कार्यरत चिकित्सकहरूको थियो ।
त्यो बाध्यता यो मानेमा स्वभाविक पनि थियो किनभने त्यो समयमा प्रकाशित कालाज्वरोसम्बन्धी निर्देशिकामा नै तराईका १३ जिल्लामा मात्र सीमित छ÷थियो भन्ने जानकारी थियो । तर जलवायु परिवर्तनसँगै कालाज्वरो फैलाउने ‘स्यान्डी फ्लाई’ नामक भुसुनाका लागि पहाडी क्षेत्र पनि उपयुक्त हुँदै गइरहेको अनुमान गर्न सकिन्छ । यति मात्र होइन हालै यो पंक्तिकारको अनुसन्धान समूहले कालाज्वरो हिमाली भेगमा समेत पुगिसकेको भन्ने पुष्टि अनुसन्धान लेखमार्फत गरिसकेको छ ।
तराईतिर कालाज्वरोको प्रकोपलाई धरै हदसम्म नियन्त्रणमा ल्याएको भएता पनि यसको फैलावट पहाड हुँदै हिमालतिर पुग्नु नेपालको लागि कालान्तरमा कालाज्वरो नियन्त्रणमा गम्भीर चुनौती हुने देखिन्छ । कालाज्वरो समयमा पहिचान गर्न सकिएन भने बिरामीको मृत्युसमेत हुन सक्छ ।
पंक्तिकारले चिकित्सकीय अध्ययन पूरा गरेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा सुरु गर्दा तराईका गाउँगाउँबाट बस रिजर्भ गरेर उपचारका लागि अस्पताल आउने गरेको अहिले झैँ लाग्दछ । यसबाट पनि २ दशकअगाडि तराईमा कालाज्वरो महामारी अवस्थाको चित्रण गर्दछ । तर अब यो तराईको मात्र समस्या नभई पहाड तथा हिमालको समेत भइसकेको–हुँदै गरेको छ ।
‘स्यान्डी फ्लाई’ नामक भुसुनाको टोकाइबाट फैलने कालाज्वरो संक्रमण भए विशेषतः ज्वरो आउने–जाने हुने, शरीरको वजन घट्ने, कलेजो–फियो बढ्ने अनि रक्तअल्पताजस्ता स्वास्थ्य समस्याहरू देखापर्ने गर्दछ । समयमा रोगको निदान तथा उपचार भएन भने बिरामीको मृत्युसमेत हुन सक्दछ ।
सन् २०१५ मा प्रकाशित एक अनुसन्धानका अनुसार पहाडी इलाकामा औलो देखिएको उल्लेख गरेको छ । जसमा १४ प्रतिशतमा कडा खालको ‘प्लामोडियम फालसिफरम’ प्रजातिको औलो पत्ता लागेको थियो । नेपालमा औलो विशेषतः तराईमा देखिने गरेको विगतको अनुभव अथवा तथ्यांकहरू छन् । तर जलवायु परिवर्तनसँगै औलोले पनि ठाउँ परिवर्तन गर्दै पहाडतिर देखिन थालेको अनुसन्धानहरूले देखाउँछन् । ठाउँ परिवर्तन मात्र होइन तापक्रम बृद्धिसँगै औलो रोगको वृद्धि पनि हुनेगरेको देखिन्छ । जस्तै एक डिग्री सेल्सियस तापक्रम बढ्दा २७ प्रतिशतले औलो बढेको नेपालको धनगढी र मोरङ जिल्लामा गरेको अनुसन्धानले देखाउँदछ ।
औलो पहाडी इलाकामा मात्र नभई हुम्ला, मुगु जस्ता हिमाली जिल्लाहरूमा पुगिसकेको विभिन्न सञ्चारमाध्यमहरूमा स्थानीय जिल्ला स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै प्रेषित गरेको देखिन्छ । यो अवस्थाले नेपालको सन् २०२६ सम्ममा ‘औलो मुक्त’ देश बनाउने प्रतिबद्धतामाथि नै चुनौती दिएको छ ।
तापक्रमको वृद्धिसँगै औलो फैलाउने एनोफेलेस जातको लामखुट्टेको विकासको लागि नयाँ ठाउँहरू उपयुक्त र सहज हँुदै गर्दा औलोले फैलने अवसर पाएको देखिन्छ । ‘प्लामोडियम फालसिफरम’, ‘प्लामोडियम भाइबेक्स’, ‘प्लामोडियम ओभाले’, ‘प्लामोडियम मलेरिये’ र ‘प्लामोडियम नोलेसी’ गरी औलो ५ प्रजातिका हुन्छन् । ‘प्लामोडियम फालसिफरम’ औलो सबैभन्दा कडा मानिन्छ । समयमा नै पहिचान र उपचार नगरे मानिसको मृत्युसमेत हुने गर्दछ । सामान्यतया संक्रमण भएको १० देखि १५ दिनमा औलोका लक्षणहरू देखिन सुरु हुने गर्दछ । उच्च ज्वरो, टाउको दुख्नु र काम्नु औलोको मुख्य र सुरुआती लक्षणहरू हुन् ।
नेपालमा हरेक वर्ष देखिने अर्को कीटजन्य रोग भनेको स्क्रब टाइफस हो । यसको संक्रमण नेपालमा बढ्दो देखिन्छ । सन् २०१५ मा धरानमा केही बालबालिकाको मृत्यु भएपछि यसको परीक्षण अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा नियमित हुन थालेको हो । जलवायु परिवर्तन र स्क्रब टाइफसको सम्बन्धको बारेमा पनि विभिन्न अनुसन्धानहरू भएका देखिन्छन् ।
अधिकांश अनुसन्धानहरूले तापक्रम वृद्धि हुँदा स्क्रब टाइफसको संक्रमण पनि बढ्ने गरेको देखाएको छ । अर्थात् जलवायु परिवर्तनको असर स्क्रब टाइफसमा पनि हुने भन्ने हो । नेपालमा पनि बर्सेनि शून्य दशमलव शून्य ४ देखि शून्य दशमलव शून्य ६ डिग्री सेल्सियसको दरमा तापक्रम बढ्ने गरेको अध्यनले देखिएको छ । यस अर्थमा पनि अगाडि दिनमा जलवायु परिवर्तनको प्रभावले स्क्रब टाइफस नेपालमा पनि बढ्ने तथा फैलने सक्ने सम्भावनाको अनुमान गर्न सकिन्छ । विभिन्न देशहरूमा जलवायु परिवर्तन र स्क्रब टाइफसको सम्बन्धको बारेमा अनुसन्धानहरू भएको भएता पनि नेपालमा भने खासै अथवा पर्याप्त भएको देखिँदैन ।
कीटजन्य रोगहरू मात्र होइन जलवायु परिवर्तनको कारणले गर्दा झाडापखालाको समस्या पनि बढेको वा बढ्ने विभिन्न अध्यनहरूले देखाएका छन् । जस्तै पेरुमा १ डिग्री सेल्सियस तापक्रम बढ्दा झाडापखालाको बिरामी ८ प्रतिशत वृद्धि भएको अनुसन्धानले देखाएको थियो । नेपालमा गरिएको एक अनुसन्धानले १ डिग्री सेल्सियस तापक्रम बढ्दा ५ वर्षमुनिका बालबालिकामा झन्डै ४ प्रतिशतको हाराहारीले झाडापखालाको केस थपिने देखाएको थियो ।
सम्भवतः तापक्रम बढ्दा झाडापखाला गराउने संक्रमणहरू बढी सक्रिय हुने वा संक्रमणहरूको लागि उपयुक्त वातावरण सिर्जना भएको हुनुपर्दछ । विशेषतः गर्मी र मनसुन सिजनमा झाडापखालाको समस्याहरू बढी देखिने गर्दछ । कडा झाडापखाला हुँदा समयमा उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ । अहिले पनि नेपालमा बर्सेनि सयौँ बालबालिकाको कडा झाडापखालाको कारणले मृत्यु हुने गरेको तथ्यांकहरू छन् ।
अन्त्यमा, नेपालमा बर्सेनि सरुवा रोगले हजारौँलाई बिरामी बनाउने तथा समयमा निदान नहुँदा÷उपचार नभएर मृत्युसमेत हुने गरेको विभिन्न तथ्यांक तथा अध्ययनहरूले देखाउँदछन् । आगामी वर्षहरूमा संक्रमितहरूको संख्या अझ बढ्नेमा २ मत छैन । संक्रमणहरू थप आक्रामक तथा भौगोलिक रूपमा विस्तारित हँुदै जानुमा जलवायु परिवर्तनको ठुलो भूमिका हुने गरेको अनुसन्धानहरूले देखाइसकेका छन् ।
हाल तराईमा मात्र देखिँदै आइरहेका संक्रमणहरू पहाड चढ्दै हिमालसम्म पुगिसकेको छ भने यसको प्रमुख कारकमध्ये एक जलवायु परिवर्तन भएको प्रमाणित भइसकेको छ । तर दुर्भाग्यवश नेपालमा भने संक्रमण अनि जलवायु परिवर्तनबीच सम्बन्धको बारेमा खासै चासो, बहस, विस्तृत–पर्याप्त अनुसन्धान भएको वा हुने गरेको भने पाइँदैन–देखिँदैन ।
(डा.पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)
प्रतिक्रिया