ट्रम्पको चेतावनीपछि बन्धक रिहाइ थप जटिल, विपिनको रिहाइ पनि अनिश्चित

काठमाडौँ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको भन्दै प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक रिहाइको क्रम पर सार्ने भएको छ । हमासको लडाकू दस्ताका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार इजरायली बन्धकहरूको आगामी निर्धारित रिहाइ स्थगित भएको छ ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौताअनुसार हमासको कब्जामा रहेका इजरायली नागरिक रिहाइका लागि पूर्वनिर्धारित सूची जारी हुन्छ भने विदेशी नागरिकका हकमा मध्यस्थकर्ता मुलुकहरूको पहलमा जतिबेला पनि रिहा गर्ने गरिएको छ ।

यसअघि बन्दी रिहाइका क्रममा हमासको कब्जामा रहेका अधिकांश विदेशी नागरिक छुटिसकेकाले यो शनिबार नेपाली नागरिक विपिन जोशी पनि रिहा हुन सक्ने अनुमान गरिएको थियो । तर, हमासको पछिल्लो निर्णयले यो सम्भावना पर धकेलिएको छ ।

युद्धविराम सम्झौतापछि हमासको कब्जामा रहेका १३८ जना बन्धक छुटिसकेका छन् । इजरायलका रक्षामन्त्री इजरेल कात्सले हमासको उक्त घोषणालाई युद्धविराम सम्झौताको ‘पूर्ण उल्लंघन’ बताएका छन् ।

ट्रम्पको चेतावनीले थप संशय

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा यदि सबै बन्धक मुक्त नगरिए युद्धविराम खारेज गरिनुपर्ने सुझाएका थिए । ‘मेरो विचारमा शनिबार १२ बजेसम्म उनीहरू फर्कनुपर्छ, सबैजना । किस्ता–किस्तामा गरेर होइन, १, २, ३ गरेर होइन,’ सोमबार ह्वाइट हाउसमा संवाददाताहरूसँग कुरा गर्दै उनले भने ।
सबै बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई थप जटिल बनाएको हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

‘ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ, जसलाई दुवै पक्षले सम्मान गर्नुपर्छ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो,’ सामी अबु जुहरीले भने, ‘धम्कीको भाषाको कुनै मूल्य छैन र यसले मामिलालाई थप जटिल बनाउँछ ।’ गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

प्रतिक्रिया