विश्वव्यापी ‘व्यापार युद्ध’को अघोषित सुरुआत

स्टिल र आल्मुनियममा भन्सार बढाउने अमेरिकाको निर्णय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रिने सबै स्टिल तथा आल्मुनियममा २५ प्रतिशत अतिरिक्त भन्सार लगाउने निर्णय गरेपछि विश्व नै व्यापार युद्धको बाटोमा गएको छ । अमेरिकाको साथमा रहँदै आएको युरोपियन युनियनले ट्रम्पको सो निर्णय न्यायिक र तार्किक नभएको धारणा राखेको छ । ट्रम्पको सो निर्णयमा कानुनी अड्चनसमेत रहेको इयुको दाबी छ । गत वर्ष नै इयुसँग अमेरिकी राष्ट्रपति जो बाइडेनले विगतमा ट्रम्पले पहिलो कार्यकालमा लगाएको प्रतिबन्ध लागू नगर्ने निर्णय गरेका थिए ।

पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको तथा इयुबाट आउने स्टिललाई २५ प्रतिशत तथा अल्मुनियमलाई १० प्रतिशत भन्सार लगाएका थिए । १ वर्षपछि सहमतिमा पुग्दै क्यानडा र मेक्सिकोबाट आउने सामानमा भन्सार हटाइएको थियो । इयुबाट आउने सामानमा भने सन् २०२१ सम्म अतिरिक्त भन्सार यथावतै थियो ।

सन् २०१८ मा पनि ट्रम्पले अमेरिकी कामदारको सुरक्षाका लागि भन्दै पहिलो पटक स्टिलमा २५ प्रतिशत भन्सार लगाउने निर्णय गरेका थिए । तर, यो निर्णय गर्दा २ वर्षअघि स्टिल उत्पादनमा ८४ हजार कर्मचारी कार्यरत थिए भने २ वर्षपछि सो संख्या घटेर ८० हजार भएको थियो ।

चीनले भने व्यापार युद्धले कुनै पनि देशलाई लाभ नहुने भन्दै यसका लागि वार्ता गर्न तयार रहेको जनाएको छ । सन् २०२४ मा सबैभन्दा धेरै क्यानडाबाट अमेरिकामा स्टिल भित्रिएको थियो । सो वर्ष ६६ लाख टन स्टिल भित्रिएको हो । सोही वर्ष ब्राजिलबाट ४५ लाख टन तथा मेक्सिकोबाट ३५ लाख टन स्टिल अमेरिका भित्रिएको थियो । चीनबाट ५ लाख ८ हजार टन स्टिल अमेरिका भित्रिएको थियो ।

यो निर्णयले क्यानडाका धेरै स्टिल व्यवसायीलाई आश्चर्यमा पारेको छ । २ दिनअघि मात्र अमेरिका र क्यानडाबीचमा जारी व्यापार युद्धले दुवै देशलाई क्षति पुग्ने ठहर गर्दै यसलाई बढावा नदिने सहमति भएको थियो । यसअघि क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत थप भन्सार लगाएका ट्रम्पले यो निर्णय १ मार्चसम्मका लागि रोकेका थिए ।

अमेरिका आयात हुने सामानमा अतिरिक्त शुल्क लगाउने ट्रम्पको निर्णय यतिमै सीमित हुनेछैन । उनले मंगलबार या बुधबार अर्को पत्रकार सम्मेलनको आयोजना गर्दै थप पारस्परिक करको निर्णय गर्ने पनि जनाइएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी उत्पादन अन्य देशमा धेरै भन्सार लाग्ने तथा अन्य देशका सामान अमेरिका आउँदा थोरै भन्सार लाग्ने भएका कारण यो निर्णय आवश्यक भएको बताएका छन् ।

विश्व व्यापार संगठनका अनुसार अमेरिकाको औसत भन्सार महसुल लगभग २ दशमलव २ प्रतिशत छ । भारतको १२ प्रतिशत, ब्राजिलको ६ दशमलव ७ प्रतिशत, भियतनामको ५ दशमलव १ प्रतिशत र इयुका देशहरूको २ दशमलव ७ प्रतिशत छ । इयुले अमेरिकी कार आयातमा १० प्रतिशत महसुल लगाउँदै आएको छ । तर, अमेरिकाले युरोपेली कारहरूमा २ दशमलव ५० प्रतिशत मात्र महसुल लगाउँदै आएको थियो ।

प्रतिक्रिया