काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा फर्किने भएपछि पार्टीभित्रको शक्ति संघर्ष अझै चुलिन सक्ने देखिएको छ । माओवादी केन्द्रको गत सोमबार बसेको पदाधिकारी बैठकमा उपराष्ट्रपति पुनलाई पार्टीमा दिइने जिम्मेवारीको सम्बन्धमा छलफल हुँदा नेताहरूबीच शक्तिको टकराव देखिएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार उपमहासचिव वर्षमान पुनले पूर्वउपराष्ट्रपति पुनलाई पार्टीको उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए । अर्का उपमहासचिव जनार्दन शर्माले पुनको प्रस्तावलाई समर्थन गरेका थिए । पूर्वउपराष्ट्रपति पुनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको दोस्रो वरीयता दिने गरी उपाध्यक्ष बनाउनुपर्ने शर्माको भनाइ थियो । त्यो भनेको माओवादी केन्द्रको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पद हो । हाल माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।
शर्माले सो प्रस्ताव राखेपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले असहमति जनाएको ती नेताले जानकारी दिए । श्रेष्ठले पूर्वउपराष्ट्रपतिको राजनीतिमा पुनरागमनको विषय नै छलफलको विषय भएको भन्दै निर्णयमा हतार गर्नु नहुनेमा जोड दिएका थिए । पछिल्लो समय पूर्वउपराष्ट्रपति पुन माओवादीका सबै बैठकहरूमा सहभागी हुने गरेका छन् ।
विगतमा अध्यक्ष प्रचण्डले उपमहासचिवद्वय पुन र शर्मालाई साइजमा राख्न पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा ल्याउन चाहेको चर्चा माओवादी वृत्तभित्र हुने गरेको थियो । अघिल्ला बैठकमा दुवै उपमहासचिवले पुनको पक्षमा बोलेका पनि थिएनन् । यस पटक भने दुवैले समर्थन गरेर पुनलाई अध्यक्षपछिको जिम्मेवारी माग गरेपछि माओवादी केन्द्रभित्रको शक्ति संघर्षले नयाँ मोड लिने संकेत गरेको छ । सोमबारको बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई दिइने जिम्मेवारीको सम्बन्धमा अध्यक्ष प्रचण्डले नै ठोस निर्णय दिन नसकेको एक पदाधिकारीले जानकारी दिए ।
प्रतिक्रिया