ब्युनस आयर्स, ११ चैत । सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलका लागि दक्षिण अमिरिकी महादेशको छनोटमा अर्जेन्टिनाले शीर्षतालाई बलियो बनाएको छ । शनिबार भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले हराएर दोस्रो स्थानको कोलम्बियासँगको अंक दूरी चार अंकमा पुर्यायो ।
१० खेलपछि अर्जेन्टिनाको २३ अंक छ । एक खेल कम खेलेको उरुग्वेको १९ अंक रहेको छ । अर्जेन्टिनाको जितमा गोन्जालो हिगुइनले दुई र लिओनेल मेसीले एक गोल गरे । अर्को खेलमा उरुग्वे र पाराग्वेले भने १–१ ले बराबरी खेले । अन्तिम १० मिनेट निकै रोचक बनेको यस खेलमा ८२औँ मिनेटमा लुइस सुआरेजले उरुग्वेलाई अगाडि बढाएका थिए ।
तर, त्यसको चार मिनेटपछि एड्गर बेनिटेजले गोल गरी पाराग्वेलाई बराबरीमा ल्याइपुर्याए । १० खेलपछि १३ अंक जोडेको उरुग्वे चौथो स्थानमा रहेको छ । त्यति नै खेल खेलेको पाराग्वे आठ अंकसहित नवौँ स्थानमा छ । त्यस्तै अर्को खेलमा पेरुले चिलीलाई १–० ले हरायो । पेरुको जितमा जेफर्सन फर्फानले गोल गरे । ८७औँ मिनेटमा फर्फानले विजयी गोल गरेका थिए । १० खेलबाट १२ अंक जोडेको चिली छैटौँ र ११ अंक जोडेको पेरु सातौँ स्थानमा रहेको छ ।
यता विश्वकपको युरोपेली छनोटअन्तर्गत शनिबार राति भएका खेलमा जर्मनी, फ्रान्स, इंग्ल्यान्ड र नेदरल्यान्ड्स विजयी हुँदा स्पेन र पोर्चुगल भने बराबरीमा रोकिए । समूह सीको खेलमा जर्मनीले कजाकिस्तानलाई ३–० ले हरायो । जर्मनीको जितमा थोमस मुलर, मारियो गोट्ज र बास्टियन स्वेस्टाइंगरले गोल गरे । जितपछि जर्मनी पाँच खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानको स्विडेनलाई पाँच अंकले पछि पार्न सफल भयो । इस्टुनियालाई ३–० ले हराएर नेदरल्यान्ड्सले समूह डीमा दोस्रो स्थानको हंगेरीलाई पाँच अंकले पछि पार्न सफल भयो । नेदरल्यान्ड्सको जितमा रविन भान पर्सिले दुई गोल गरे । हंगेरी र रोमानियाबीचको खेल भने २–२ ले बराबरी भयो ।
समूह ‘ए’मा सान मारिनोलाई ८–० ले हराएर इंग्ल्यान्ड पाँच खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा बलियो भयो । शीर्षस्थानमा रहेको मन्टेनेग्रोको पाँच खेलबाट १३ अंक रहेको छ । सोही समूहका अन्य खेलमा मन्टेनेग्रोले मोल्डोभालाई १–० ले हरायो भने पोल्यान्डविरुद्धको खेलमा युक्रेन ३–१ ले विजयी भयो । समूह ‘आई’को खेलमा विश्वकप तथा युरोपियन च्याम्पियन स्पेन, फिनल्यान्डविरुद्ध १–१ ले रोकिँदा सोही समूहको अर्को खेलमा फ्रान्सले जर्जियालाई ३–१ ले पराजित गर्यो । ४९औँ मिनेटमा सर्जियो रामोसको गोलमार्फत अग्रता लिए पनि स्पेन ७९औँ मिनेटमा बराबरीमा झरेको थियो । तेमी पुक्कीले फिनल्यान्डका लागि बराबरी गोल फर्काएका थिए । फ्रान्सको जितमा ओलिभर गिरौड, फ्रान्क रिबेरी र म्याथ्यु भल्बुएनाले गोल गरे । चार खेलबाट १० अंक जोड्दै फ्रान्स शीर्षस्थानमा रहेको छ भने आठ अंक भएको स्पेन दोस्रो स्थानमा छ ।
समूह ‘एफ’को भिडन्तमा पोर्चुगल, इजरायलसँग ३–३ ले बराबरीमा रोकियो । दोस्रो मिनेटमा ब्रुनो आल्भेसको गोलमार्फत अग्रता लिएको पोर्चुगल ७०औँ मिनेटमा ३–१ ले पछि परेको थियो । तर, ७२औँ मिनेटमा हेल्दर पोस्टिगा र ९०औँ मिनेटमा फाबियो कोएन्ट्राओले गोल गरी पोर्चुगललाई अंक दिलाए । पाँच खेलबाट आठ अंक जोडेको पोर्चुगल समूहको तेस्रो स्थानमा छ । चार खेलबाट १२ अंक भएको रुस शीर्षस्थानमा छ भने पाँच खेलबाट आठ अंक भएको इजरायल दोस्रो स्थानमा छ ।
प्रतिक्रिया