द्वन्द्वपीडित परिवारलाई राहत

धनगढी : सशस्त्र द्वन्द्वमा मृत्यु भई सरकारको द्वन्द्वपीडित कार्यदलबाट प्रमाणित भएका कैलालीका ४ सय ४४ व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको छ ।
स्थानीय शान्ति समितिको कार्यालयका अनुसार द्वन्द्वका कारण मृत्यु भएको प्रमाणित ५ सय ५३ व्यक्तिमध्ये ४ सय ४४ व्यक्तिका परिवारलाई तीन लाख रुपियाँका दरले राहत वितरण गरिएको हो । प्रमाणित भएकामध्ये ५७ मृतकका परिवार भने राहत बुझ्न नआएको शान्ति समितिले जनाएको छ । प्रमाणितमध्ये कतिपयको दोहोरो ठाउँमा नाम परी राहत बुझेको र कतिपयको नजिकको हकदार नभएका कारण ५७ मृतकका परिवार राहत बुझ्न नआएको हुनसक्ने स्थानीय शान्ति समितिका सचिव तेजराज तिमिल्सेनाले बताए ।
द्वन्द्वकालमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका भनिएकामध्ये हालसम्म प्रमाणित भएका ३१ मध्ये १६ व्यक्तिका परिवारलाई तीन लाखका दरले र ६ बेपत्ताका पत्नीलाई २५ हजार रुपियाँका दरले राहत दिइएको छ ।
यसैगरी, विस्थापित २ सय ६९ परिवार र अपहरणमा परेका १७ जनाले राहत पाएका छन् । द्वन्द्वका क्रममा अंगभंग भएका १९ ले मासिक ६ हजार २ सयका दरले र तीन जनाले १२ हजार ४ सयका दरले जीवन निर्वाह भत्ता पाउँदै आएका छन् । ३५ जना टुहुरा बालबालिकाले मासिक पाँच हजार राहत बुझ्दै आएका छन् ।
जिल्लामा द्वन्द्वका कारण एक हजार ९ सय ८७ परिवार विस्थापित, २४ जना अपहरणमा, २ सय जना अंगभंग भएका, २ सय ८२ को व्यक्तिगत सम्पत्ति क्षति, २ सय ४० को घरजग्गा कब्जा, ६८ जना टुहुरा बालबालिकाको तथ्यांक कार्यदलले प्रमाणित गरिसकेको छ ।

प्रतिक्रिया