महिला नेतृ शशी आचार्यको निधन : विभिन्न नेताहरुद्वारा दुःख प्रकट

तनहुँ । नेपाल महिला संघ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा शनिबार राति ८ः४५ बजे निधन भएको हो ।

व्यास नगरपालिका–३ निवासी आचार्य केही समयदेखि अस्वस्थ थिइन् । उनको आज दमौलीस्थित मादीसेती घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । आचार्यले महिला हक अधिकार र उत्थानका लागि अतुलनीय योगदान गरेकी थिइन् ।

आचार्यको निधनप्रति विभिन्न दलका नेताहरुले दुःख प्रकट गरेका छन् । नेकपा (एमाले) राष्ट्रियसभाकी प्रमुख सचेतक भगवती न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदान पुर्याउने आचार्यको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले राजनीतिक र महिला आन्दोलनमा उल्लेखनीय योगदान गर्नुभएकी आचार्यको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले आचार्यको निधनले नेपाली कांग्रेसलाई क्षति पुगेको उल्लेख गरेका छन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा उनले पुर्याएको योगदान सधैँ उच्च रहने भण्डारीको भनाइ छ ।

प्रतिक्रिया