बर्दिया । बर्दियामा हिउँदे आगन्तुक जलपक्षीको प्रजाति र संख्या बढेको पाइएको छ । कर्णाली, गेरुवा नदी, बढैयाताल, सतखलुवा ताललगायत क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षीको गणना गर्दा जलपक्षीको प्रजाति र संख्या बढेको पाइएको हो ।
विभिन्न देशबाट जाडो छल्नका लागि आउने हिउँदे आगन्तुक जलपक्षीको बर्दियामा हरेक गणना गर्ने गरिएको छ । चालु आर्थिक २०८१/०८२ को हिउँदमा ९३ प्रजातिका ३ हजार ८८९ जलपक्षी गणना गरिएको छ । आर्थिक २०८०/०८१ मा ९० प्रजातिका ३ हजार २०४ जलपक्षी गणना गरिएको थियो भने २०७९/०८० मा ९४ प्रजातिका २ हजार १२६ जलपक्षी गणना गरिएको नेपाल पक्षीविद् संघका केन्द्रीय सदस्य चराविज्ञ एवं पानी चरा गणना संयोजक रामबहादुर शाहीले बताए ।
उनले पानीको कमी, असुरक्षित बासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा, र पर्यावरणमा परेको असरका कारण जलपक्षी चराको बासस्थान संकटमा पर्दै गएको बताए । उनले पानी चराको खेल्ने, बस्ने र खाने ठाउँ प्राकृतिक नदी, खोला, ताल र सिमसार क्षेत्रमा रैथाने संरक्षण प्रर्वद्धन गरी चराका लागि उपयुक्त बासस्थान निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
सरकारले ठुला जनावरको संरक्षणका लागि काम गरे पनि चरा संरक्षणका लागि काम नगरेको शाहीको गुनासो छ । उनले पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको बासस्थान संकटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू संकटमा पार्दै गइरहेको बताए ।
उनले भने, ‘मानवीय अतिक्रमणले चराको बासस्थान नास हुनु वा बिग्रनु, सिमसार क्षेत्र आसपासमा हुने प्लास्टिकजन्य फोहोर र पर्यावरणमा परेको असर मुख्य कारण देखिन्छ ।’ चरा पर्यटनको विकास र चरा संरक्षणका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल पक्षी संरक्षण संघका हिरूलाल डगौराले नेपालमा ८९७ प्रजातिका चरामध्ये २०० प्रजातिका जलपक्षी रहेको जानकारी दिए । उनले बर्सेनि १५३ प्रजातिका चराहरू बसाइँ सरेर आउने गरेको बताए । उनले प्रत्येक वर्ष गरिने जलपक्षी गणनाले उनीहरूको प्रजाति र संख्याका बारेमा यकिन गर्न सकिने र संरक्षणका लागि ठोस नीति तथा योजना बनाउन सहज हुने भएकाले जलपक्षी गणना गरिने गरेको जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सुनिल राउतले आगन्तुक चराहरू जाडो छल्नमा लागि प्रत्येक वर्ष नेपालमा रहेका तालतलैयामा आउने गरेको बताए । उनले प्रत्येक वर्ष चराहरू कति आए, कुन–कुन प्रजातिका आए भनेर थाहा पाउन र चराको संरक्षणमा रणनीति बनाउन पनि चरा गणना गरिएको जानकारी दिए ।
प्रतिक्रिया