जनकपुरधाम । सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीहरू बायोम्याट्रिकका लागि औँठाछाप र आँखाको रेटिना स्क्यान गर्ने, नवीकरण गर्ने र राजस्व तिर्ने ठाँउमा लस्करै लाइनमा छन् । राजस्व बुझाउने कोठाछेउमै रहेको स्वास्थ्य जाँच कक्षमा पनि सेवाग्राहीको भीड छ । लामो समय लाग्नुपर्ने स्वास्थ्य जाँचजस्तो संवेदनशील काम पनि पैसा बुझाएर राजस्व तिरेभन्दा पनि छिटो भइरहेको छ । यो दृष्य हो यातायात व्यवस्था कार्यालय जनकपुरधामको ।
कोठाको भित्तामा आँखा जाँचका लागि चाहिने विभिन्न आकारका अक्षरहरू झुण्ड्याइएका थिए । तर चालक अनुमतिपत्र लिन चाहनेहरूमा छारेरोग लगायतका समस्या भए÷नभएको जाँचका लागि आवश्यक उपकरणहरू थिएनन् । स्वास्थ्य जाँचका लागि आएका सेवाग्राहीसँग कर्मचारीले १५० रुपैयाँ शुल्क लिएर विना परीक्षण स्वास्थ्य परीक्षण रसिद बाँडिरहेको देखिन्थ्यो । सवारी साधनको नयाँ चालक अनुमति पत्र बनाउनका लागि आवश्यक पर्ने स्वास्थ्य परिक्षण रिपोर्टमा यस्तो चरम लापरवाही देखिएको हो ।
यातायात व्यवस्था कार्यालयले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० बमोजिम स्वास्थ्य परिक्षण गरेबापत सेवाग्राहीसँग नगद १५० रुपैयाँ लिने गरेको छ । तर, सो रकम लिएबापत कार्यालयले भने स्वास्थ्य परीक्षणको कुनै रिपोर्ट नै नदिईस्वास्थ्य परीक्षण रसिद मात्रै थमाउने गरेको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधामले उपलब्ध गराउने स्वास्थ्य परीक्षण रसिदमा सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० बमोजिम स्वास्थ्य परीक्षण गरे वापत नगद रु. १५० प्राप्त भयो भन्ने उल्लेख छ । त्यसमा दुईजना चिकित्सक डा. अवधेश कान्त झा र डा. अशोक कुमार साहको नामसमेत लेखिएको छ । तर, रसिदमा न त बुझाउनेको न त बुझिलिनेको हस्ताक्षर छ ।
कार्यालयले मापदण्ड उल्लंघन गरी सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट तयार गर्नु कार्यालयको चरम लापरवाही रहेको एक सेवाग्राहीले बताए । एकजना सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘स्वास्थ्य जाँच गराउन म लाइनमा बसेको थिएँ । तर, कोठा नम्बर ७ मा १५० रुपैयाँमै निरोगिताको प्रमाणपत्र दिइरहेको देखेँ । सरकारी कार्यालयमा यस्तो व्यवहार भएपछि आधिकारिक प्रक्रिया के हो भनेर कसरी थाहा पाउने ?’
यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ४ को दफा ४७ ले छारेरोग भएको, मानसिक सन्तुलन बिग्रिएको, रिँगटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको र साधारण ध्वनि संकेत सुन्न नसक्ने लाई सवारीचालक अनुमतिपत्र लिन अयोग्य ठह¥याएको छ । ऐनको यो दफाअन्तर्गत क्रम संख्या (ग) देखि (ज) सम्मका विभिन्न प्रावधानहरूले रातो, हरियो र पहेँलो रङ तुरुन्त छुट्ट्याउन नसक्ने दृष्टिदोष भएको, रतन्धो भएको र हातखुट्टा शक्तिहीन भई काम दिन नसक्ने भएको व्यक्तिलाई पनि सवारीचालक बन्न अयोग्य ठह¥याउँछन् । तर शारीरिक अपांगतालगायत विशेष अवस्थाका व्यक्तिको लागि बनेका सवारी साधनको हकमा परीक्षण गरेर उपयुक्त देखिएमा मात्र सवारीचालक अनुमतिपत्र दिनुपर्ने व्यवस्था ऐनमा छ ।
कार्यालय प्रमुख गायव
कार्यालयमा भद्रगोल देखेपछि यातायात व्यवस्था कार्यालयमा प्रमुखलाई खोज्दै पुगे सेवाग्राही । तर, आफ्नो कार्यकक्षमा कार्यालय प्रमुख धनंजय कुमार सिंह भने थिएनन् । उनको कोठामा जाँदा गेटबाहिर नेमप्लेटमा कार्यालय प्रमुख ‘भित्र’ लेखिएपनि उनी बस्ने कुर्सी भने खाली थियो । सेवाग्राहीहरु धेरैबेर कुरे तर उनी आएनन् । कार्यालयको बेथितिबारे रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीले सम्पर्क गर्दा समेत आफू कामको शिलशिलामा मन्त्रालय आएको र केहीबेर पछि कार्यालयमा आउने भन्दै फोन काटेका उनी कार्यालयमा उपस्थित भएनन् ।
कार्यालयबाट सेवा प्रवाहमा कठीनाई भएसँगै उनी दवाव झेल्न नसकेर कार्यालय छाडेर अन्यत्र जाने गरेको एक जना कर्मचारीले बताए । दैनिक केही न केही समस्या आइरहँदा आफूहरु पनि निकै तनावमा रहेको कार्यालयका कर्मचारी बताउँछन् । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह, कर्मचारीहरुको उपस्थिति अवस्था बारेमा सम्बन्धित सरोकारवाला निकायले छडके÷अनुगमन नगर्दा यस्तो अवस्था देखिएको एकजना सेवाग्राहीले बताए ।
कार्यालय प्रमुख नियमित नबस्दा कार्यालयका दैनिक गतिविधिहरू प्रभावित भइरहेको बताइएको छ । कर्मचारी स्रोतका अनुसार कार्यालय प्रमुख सिंह प्रायःजसो अनुपस्थित भइरहँदा कार्यालयको काम प्रभावित भइरहेको बताइएको छ । यस विषयमा उनीसँग कुरा गर्दा उनले कामविशेषले गर्दा मन्त्रालय जानुपरेको र फोनमा सबै कुरा भन्न नमिल्ने बताएका थिए ।
प्रतिक्रिया