वाक क्षमताका लागि दैलेखमा पब्लिक स्पिच हुने

दैलेख । दैलेखमा पब्लिक स्पिच–२०८१ हुने भएको छ । जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजना तथा बास नेपाल दैलेखको सहजीकरणमा दैलेखमा पब्लिक स्पिच–२०८१ हुन लागेको हो ।

सार्वजनिक सभा समारोह, मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला भएको बन्दै दैलेखमा पब्लिक स्पिच–२०८१ गर्न लागिएको जय विन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वीबहादुर शाहीले पत्रकार सम्मेलनमा बताए । उनले युवा क्लब तथा बास नेपालले तयार पारेको प्रेस नोटलाई छलफलको माध्यमबाट सार्वजनिक गर्दै पब्लिक स्पिच–२०८१ गर्न लागेको जानकारी दिए ।

उनका अनुसार दैलेखका ११ वटै पालिकामा पालिकास्तरीय पब्लिक स्पिच–२०८१ गरिने छ । ४ नगरपालिका र ७ गाउँपालिका भएको दैलेखमा पहिलोपटक यस्तो कार्यक्रम गर्न लागिएको हो । यस अघिको वर्षमा चामुण्डामा मात्रै यो कार्यक्रम भएको थियो ।

विद्यार्थी तथा युवाहरूको व्यक्तित्व सिप अभिवृद्धि गर्न, माध्यमिक तथा क्याम्पसहरूमा अध्ययनरत करिब ११ हजार जनाको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ । पालिका स्तरमा हुने कार्यक्रममा सहभागी हुन चाहानेका लागि २०० रुपैयाँ नाम दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । पालिकामा भएको कार्यक्रममा प्रथम, द्वितीय, तृतीयलाई उचित पुरस्कारको व्यवस्था गरेको छ ।

पालिकाबाट छनोट भएका ३ जनालाई जिल्ला स्तरको कार्यक्रममा सहभागी गराइने छ । पालिका स्तरको कार्यक्रम माघ ४ गते आठविस नगरपालिकाबाट सुरु हुनेछ, हरेक दिन हुने पालिका स्तरको कार्यक्रम माघ १४ गते गुराँस गाउँपालिकामा समापन हुनेछ ।

हरेक पालिकाबाट छनोट भएका ३३ जना प्रतिस्पर्धीको जिल्ला स्तरको पब्लिक स्पिच कार्यक्रम यही फागुन ७ र ८ गते चामुण्डामा गर्ने गरी आयोजकले योजना बनाएको छ । पालिका स्तरको कार्यक्रममा आफूले चाहेको विषयमा स्पिच दिन सकिने भए पनि जिल्ला स्तरको कार्यक्रममाः सुशासन र भ्रष्टाचार, दिगो विकासका लागि युवा, लागुऔषध दुव्र्यसनी, युवा स्वरोजगार, लैंगिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तन र कला संस्कृति मध्ये गोला प्रथाको माध्यमबाट कुनै एक विषयमा स्पिच दिन पाइनेछ ।

उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीयले क्रमशः ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार पाउनेछन् भने प्रतिस्पर्धिबाट १ जनाले २५ हजार पब्लिक च्वाइस अवार्ड र पालिकाबाट सहभागी मध्ये ई–सेवाका माध्यमबाट सर्वोत्कृष्ट मत प्राप्त गर्ने १ प्रतियोगीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतिक्रिया