रुकुमपश्चिम । जाजरकोट भूकम्पको १ वर्ष बढी पुग्यो । तर पीडित अझैसम्म पनि अस्थायी आवासमै बस्न बाध्य छन् । भूकम्पपीडित चैतको गर्मी, असारको वर्षात र पुस–माघको चिसोमा कठ्यांग्र्रिन बाध्य भएका छन् ।
भूकम्पपछि निर्माण हुने अस्थायी आवाससमेत निर्माण नहुँदा पीडितहरू कठ्यांग्रिदोे चिसोमा दिन काट्न बाध्य छन् । चिसो बढेसँगै जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प पीडित बिचल्ली भएका छन् । भूकम्प गएको १ वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति नलिँदा उनीहरू बिचल्ली भएका हुन् । सरकारले ल्याएको कार्यविधिअनुसार अस्थायी आवासका लागि पाइने पहिलो र दोस्रो किस्ता वापतको ५० हजार रुपैयाँ नपाउँदा पीडितलाई समस्या थपिएको छ । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिम, सल्यान र जाजरकोटका बासिन्दा अझै पनि अस्थायी आवासमा बसिरहेका छन्, भने केही पीडितले अस्थायी आवास निर्माणका लागि पहिलो किस्तासमेत पाउन सकेका छैन ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ स्थित अस्थायी आवासमा बस्दै आएका भूकम्पपीडित खले घर्ती भन्छन्, ‘रातिमा शीतलहर पर्ने हुँदा टिनबाट शीतका थोपा भित्र पसेर चिसोले सताएको छ । एक्कासि बढेको चिसोले झन् बालबालिका, महिला र ज्येष्ठ नागरिकको बिचल्ली भएको छ ।’
अर्का पीडित तुले पुनले भने, ‘भूकम्पले घर ढाल्दा सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै वास्ता गरेका छैनन् । जसोतसो ऋण भए पनि टहरा बनायौँ । अब दोस्रो किस्ता नपाउँदा ऋण लिएको पैसा तिर्न सकिएको छैन । टहरामा चिसोले कठ्यांगिएर मरिन्छ कि भन्ने पिर छ ।’
लामो समयदेखि अस्थायी आवासमा बस्दै आउँदाको पीडा सुनाउँदै पीडितले अनेक कठिनाइ झेल्दै आएको बताएका छन् । अधिकांश पीडितलाई कसरी गुजारा गर्ने र आवास बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता भइरहेका बेला एक्कासि सुरु भएको चिसोले थप बिचल्ली बनाएको छ ।
रुकुमपश्चिममा कायम भएका लाभग्राही मध्ये २ हजार २ जनाले अस्थायी टहरा निर्माणका लागि सरकारले दिने भनेको पहिलो किस्ताको अनुदान रकमसमेत पाउन सकेका छैनन् । लाभग्राही कायम भएका ३२ हजार ९९६ जनामध्ये १६ हजारको लागि मात्र दोस्रो किस्ताको रकम निकासा भएको छ । सामान्य रोजगार गरेर जीविका चलाइरहेकालाई थप समस्या थपिएको छ । धेरैले ऋण लिएर स्थायी आवास निर्माण गर्न थाले पनि पहिलो किस्ता नै नपाउनेका लागि भने समस्या थपिएको छ । दोस्रो किस्ताको रकम निकासा भए पनि पीडितले भने अझैसम्म दोस्रो किस्ताको रकम पाएका छैनन् ।
अहिले टहरामुनि बस्दै आएका अधिकांश बालबालिका र वृद्धवृद्धा चिसोले काँपिरहेका भेटिन्छन् । हिउँद सुरु भएसँगै चिसो बढ्ने क्रम सुरु भएकाले बालबालिका र वृद्धवृद्धा कठिनाई थपिएको छ । गत वर्ष चिसोका कारण केही मानिसको ज्यान गएको थियो । अहिले पनि धेरै परिवारहरू चिसोको मार खेपिरहेका छन् । गत वर्षको कात्तिक १७ मा गएको ६ दशमलव ४ म्याग्निच्युटकोे भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिम जिल्लाहरूमा ठूलो क्षति भएको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया